चितवन विशेष
भरतपुरमा कम्पोष्टिङ्ग करेसाबारी एवम् कौशी खेती सम्बन्धी तालिम सम्पन्न
चितवन फागुन ७-
भरतपुरमा फोहोर न्यूनिकरण तथा व्यवस्थापनका लागि कम्पोष्टिङ्ग करेसाबारी एवम् कौशी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ ।
नेपाल विकास समाज र भरतपुर महानगरपालिका वडा नं. ५ को आयोजनामा गत बुधवार देखि सुरु भएको दुई दिने फोहोर व्यवस्थापन सम्बन्धी तालिम तालिम समपन्न भएको हो । तालिमको भरतपुर वडा नं ४ ले संयोजन गरेको थियो ।
नेपाल विकास समाज भरतपुर ५, विकासचोकमा आयोजित उक्त कार्यक्रममा भरतपुर ४ का वडाअध्यक्ष हरि प्रसाद आर्चायले फोहोर व्यवस्थापन सवैको जिम्मेवार भएकाले हरेकले आफ्नो आफ्नो ठाउँबाट फोहोरको उचित व्यवस्थापन तथा न्यूनिकरणमा लाग्नुपर्नेमा जोड दिए ।
यस्तै नेपाल विकास समाजका संस्थापक सदस्य कालिदास न्यौपानेले संस्थाको परिचय दिदै २०७० सालदेखि नै निरन्तर रुपमा समाजको हक हितका लागि लागिपरेको र हालसम्म संचालित विभिन्न कार्यक्रमका वारेमा जानकारी दिए। न्यौपानेले घरेलु फोहोरलाई स्रोतमानै व्यवस्थापन गर्न सके वातावरण स्वच्छ राख्न निकै टेवा पुग्ने कुरामा जोड दिए।
नेपाल विकास समाजद्वारा भरतपुर महानगरपालिका, वडा नं. १ देखि १० सम्म, २०७७ माघ–फाल्गुणमा गरेको सर्वेक्षण अनुसार प्रत्येक दिन प्रति परिवार ५०० ग्राम फोहोर उत्पादन हुने देखिएको छ । ती फोहोरहरुमा भान्छाबाट निस्कने फोहोर र प्लाष्टिकजन्य फोहोरको मात्रा सबैभन्दा बढी रहेको पाइएको नेपाल विकास समाजकी कार्यक्रम संयोजक सिम्रन काफ्लेले जानकारी दिइन ।

यी फोहोरहरु कुहिने र नकुहिने नछुट्याई व्यवस्थापन गर्ने अभ्यास नै फोहोर व्यवस्थापनको प्रमुख चुनौती रहेको सयोजक काफ्ले बताउँछिन । सर्वेक्षणका अनुसार भरतपुरमा २० प्रतिशत परिवारले मात्र कम्पोष्टिङ्ग गर्ने देखिएकाले आफ्नो फोहोर आफै व्यवस्थापनका लागि कम्पोष्टिङ्गको सीप विकास गरी करेसाबारी एवं कोसीखेती अभियान टोल टोलमा संचालन गर्न थालेको उनले जानकारी दिइन ।
कार्यक्रमको तालिम—सहजकर्ता तुलसी ज्ञवालीले घरमा उत्पादन हुने जैविक फोहोरलाई विभिन्न तरिकाबाट कम्पोष्टिङ्ग गर्ने विधिको वारेमा सिकाउदै प्रयोगात्मक अभ्यास गरेर पनि देखाएकी थिइन । यसरी उत्पादन हुने फोहोरलाई प्राङ्गारिक मल वनाएर करेसावारी र कौसी खेतीमा उचित प्रयोग गर्न सके फोहोर न्यूनिकरण हुने र आफूले घरकै ताजा फलफूल तरकारी सेवन गर्न पाउने कुरा ज्ञावालीले प्रष्ट पारिन । यस्तै बेटर चितवनको संस्थापक अध्यक्ष तथा वातावरण अभियन्ता सागर कार्कीले करेसावारीको बारेमा थप प्राविधिक जानकारी प्रदान गरेका थिए ।
तालिममा भरतपुर वडा नं. ४ यज्ञपुरी टोल विकास संस्था र शिवघाट टोल विकास संस्थाबाट २० जना सहभागि भएका थिए । भरतपुर महानगरभित्रका १ देखि १० वडामा गरिएको घरेलु फाहोर अवस्था चित्रणको अध्ययनको नतिजाको आधारमा र वडा नं. ४ को समन्वयमा सहभागि छनौट गरिएको थियो । तालिमको अन्त्यमा सहभागिहरुले आफ्नो कार्ययोजना समेत प्रस्तुत गरे ।उक्त अध्ययनको नतिजाको आधारमा संचालन गरिएको तालिम भरतपुर महानगरपालिका वडा नं.४ पश्चात १ देखि १० सम्मका वडाहरुमा क्रमश संचालन गर्ने योजना रहेको संस्थाको कार्यक्रम अधिकृत प्रकृति न्यौपानेले जानकारी दिइन ।


























