अर्थ

कालिका पावर कम्पनीद्वारा ६ महिनामा ५ करोड नाफा आर्जन, आगामी वर्ष लाभांश दिइने

Banner

चितवन, माघ ३०
कालिका पावर कम्पनीले चालु आव ०७७/७८ को ६ महिनामा ५ करोडभन्दा बढी नाफा आर्जन गरेको छ ।

कम्पनीको आज भरतपुरमा भएको १३ औं वार्षिक साधारण सभामा ६ महिनामा ५ करोड ३६ लाख ३ हजार ५५७ रुपैयाँ नाफा आर्जन भएको जानकारी गराइएको हो ।

सभामा कालिका पावर कम्पनीका अध्यक्ष एवं पूर्वमन्त्रि विक्रम पाण्डेले चालु आवको ६ महिनामा ११ करोड २७ लाख ७३ हजार ३३६ रुपैयाँको विद्युत बिक्री गरिएको जानकारी दिए । विविध कारणले विद्युत उत्पादन प्रक्रियामा ५ वर्ष ढिला भएकाले अहिलेसम्म लाभांश वितरण गर्न नसकिएको जनाउँदै उनले आगामी वर्ष सेयर धनीहरुलाई लाभांश बाँड्ने लक्ष्य राखिएको बताए ।

सभामा आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु सभामा प्रस्तुत गरिएको थियो । ती सबैलाई सभाले स्वीकृति गरेको छ ।

आर्थिक वर्ष ०७६/०७७ को अन्त्यमा कम्पनीको अधिकृत पुँजी ८५ करोड रुपैयाँ, जारी पुँजी ६० करोड रुपैयाँ र चुक्त पुँजी ६० लाख रुपैयाँ रहेको कम्पनीका सञ्चालक पदम गुरुङले जानकारी दिए ।

कम्पनीले गोरखा जिल्लाको अजिरकोट गाउँपालिका भएर बहने दरौदी खोलाबाट २०७३ सालदेखि ६ मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्दै आएको छ । उत्पादित सम्पूर्ण विद्यतु शक्ति नेपाल विद्युत प्राधिकरणले खरिद गरेर राष्ट्रिय प्रशारण लाइनमा जोडेको छ ।

२०६४ साल फागुनमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दरौदी कालिका हाइड्रो प्रा.लि. कम्पनीको नाममा दर्ता भएको उक्त कम्पनी २०७२ साल असोजमा पब्लिक कम्पनीमा परिणत भइ कालिका पावर कम्पनी लिमिटेडका नामबाट सञ्चालित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>