राजनीति
जनयुद्ध लडेर आएका हौं, सेना र प्रहरीका बन्दुकसँग डाराउँदैनौः पुन

काठमाडौं,फागुन २२-
नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने चेतावनी दिएका छन्। संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल पक्षले बिहीबार गरेको आमहड्तालका सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग जनयुद्ध लडेर आएका आफूहरु ओली र रामबहादुर थापासँग नतर्सने उल्लेख गरे।
बिहीबार बुटवलमा र केही दिनअघि काठमाडौंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङ्कर गुडाएर तर्साउन खोजिएको पुनको भनाइ थियो। ओली सधैं प्रधानमन्त्री र थापा सधैं गृहमन्त्री रहिनरहने भन्दै पुनले आन्दोलन सफल भएर पदबाट हटेका दिन सेना र प्रहरीले नै उनीहरुलाई उठाएर हिरासतमा राख्ने दाबी गरे।
केही समयअघिसम्म आफ्नै पार्टीका अध्यक्ष र नेता रहेका प्रचण्डलाई गृहमन्त्रीले सडकबाटै उठाएन आदेश दिएको खबर सुनेको भन्दै पुनले आपत्ति जनाए। सेना र प्रहरी जस्ता संस्था जनताले तिरेको करबाट चलेको भन्दै पुनले लोकतन्त्र र जनताको रक्षाका लागि विश्वास गरेर हतियार राख्न दिएको तर्क गरे।
























