खैरहनी

उवासंघ खैरहनीमा पदाधिकारी चयन

Banner

खैरहनी,माघ २२-

उद्योग वाणिज्य संघ खैरहनीको नयाँ कार्यसमितिमा पदाधिकारी चयन गरिएको छ । नयाँ समिति चयन भएपछि बिहीबार बसेको संघको पहिलो बैठकले पदाधिकारी चयन गरेको हो । अध्यक्ष प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्था भए पनि पदाधिकारी चयन निर्वाचित सदस्यबाट चयन गर्ने संघको विधानमा उल्लेख छ । समिति भित्रकै सदस्यबाट सर्वसम्मतको आधारमा चयन नभए समितिका सदस्यले मतदान गरेर पदाधिकारी चयन हुने व्यवस्था छ । तर यस पटकको चुनावमा नेपाली काँग्रेस निकट व्यवसायीहरुको लोकतान्त्रिक समूहले दुई तिहाई ल्याएकाले सोही समूहबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको संघका नवनिर्वाचित अध्यक्ष दिपेन श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार संघको प्रथम उपाध्यक्षमा कुमार खनाल, द्धितीय उपाध्यक्षमा जगत बहादुर पाण्डे, महासचिवमा केदारनाथ बर्तौला र कोषाध्यक्षमा क्षेत्रबहादुर रावललाई चयन गरिएको छ । तृतिय उपाध्यक्ष भने यसअघिनै सर्वसम्मत रुपमा चयन भईसकेका छन् । तृतीय उपाध्यक्षमा शिवराज उप्रेती चयन हुनु भएको थियो । निर्वाचित अन्य सदस्यहरु यथावत छन् । पाँचौ अधिवेशनमा नेकपा निकट व्यवसायीहरुको प्रगतिशिल समूह र नेपाली काँग्रेस निकट व्यवसायीहरुको लोकतान्त्रिक समूह चुनावमा उत्रिएका थिए । जसमा प्रगतिशिल समूहबाट सदस्यमा अर्जुन लम्साल र लक्ष्मण निरौला निर्वाचित हुनुभएको थियो । अरु सबै लोकतान्त्रिक समूहबाट निर्वाचित हुनु भएको हो । संघका अन्य सदस्यहरुमा विनोद अर्याल, विक्रम खड्का, अनिल श्रेष्ठ, प्रशान्त अधिकारी, किरण बुर्लाकोटी, अनुप अधिकारी, कृष्णबहादुर श्रेष्ठ, शंकर कँडेल र विक्रम चौधरी निर्वाचित हुनु भएको थियो । संघमा ४ जना सदस्य भने पछि मनोनित हुनेछन् । मनोनित र निवर्तमान अध्यक्षसहित कार्यसमिति २२ सदस्यीय हुनेछ ।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले महिला उद्यमीलाई संघमा दर्ता हुँदा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको छ । महिलाले संचालन गरेको फर्म दर्ताका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ । अब दर्ता शुल्क निःशुल्क गर्ने निर्णय भएपनि नविकरण शुल्क भने लाग्ने संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो । पहिलो बैठक अघि बिहीबारनै नवनिर्वाचित अध्यक्ष र सदस्यहरुलाई निर्वाचन समितिले पद तथा गोपनियताको सपथ ग्रहण गराएको थियो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष दिपेन श्रेष्ठले व्यवासयिको हकहितमा र सामाजिक कार्यमा समय खर्चने बताउनुभयो । सपथग्रहण कार्यक्रममा संघका पूर्व अध्यक्ष एवंम् नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कोषाध्यक्ष गुणराज श्रेष्ठले चुनावी घोषणा पत्र अनुसार जिम्मेवार पूर्वक काम गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>