चितवन विशेष
भरतपुरको नवजागृति वनमा बाल उद्यानको शिलान्यास

चितवन, माघ १९-
भरतपुर महानगरपालिका-११ नवजागृति सामुदायिक वनमा आज बाल उद्यानको शिलान्यास भएको छ ।
भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेनु दाहालले सो उद्यानको शिलान्यास गरेकी हुन् । भरतपुर महानगरको ३० लाख बजेटमा बाल उद्यान निर्माण थालिएको हो ।
महानगरले एक वडा एक पार्क निर्माण गर्ने लक्ष्य राखे अनुसार भरतपुर महानगर-११ मा पनि नगरस्तरीय ईको पार्क निर्माण थालिएको र सुरुको चरणमा बाल उद्यानको शिलान्यास गरिएको महानगर प्रमुख दाहालले बताइन् । महानगरले अहिले ६ वटा वडामा करोडौँ बजेटका नगरस्तरीय पार्कको काम थालनी गरिसकेको उनको भनाइ छ ।
बाल उद्यानका लागि अहिले ३० लाख बजेट बिनियोजन भएको र आगामी दिनमा महानगरबाट थप बजेट बिनियोजन गर्ने र केन्द्र सरकारबाट पनि बजेट ल्याउन पहल गर्ने बताइन् । मेयर दाहालले भरतपुर महानगरमा ब्यापक रुपमा विकासका कामहरु भएको बताइन् ।
बिगतमा पिच हेर्न भरतपुर र नारायणगढका मुख्य सडकमा आउनु पर्ने अवस्था रहेकोमा अहिले महानगरका सबै वडाको सानोसानो टोलटोलमा पनि पिच बाटो पुगेको र फुटपाथसहितका ब्यवस्थित रिङरोड, लिंकरोडहरु धमाधम निर्माण भएको उनले बताइन् ।

पूर्वाधार बिकासमा महानगर निकै अगाडि बढेको उनको भनाइ छ । गोन्द्राङ पुलचोक सडक, भरतपुरहुँदै जगतपुर, शुक्रनगर, मेघौली सडक, सबै महानगरको प्रयास र प्रयत्नबाट सफल भएको उनको दाबी छ ।
कार्यक्रममा महानगर उपप्रमुख पार्वती शाह ठकुरीले भरतपुर महानगर देशकै नमुना महानगरका रुपमा अगाडि बढेको बताइन् । भरतपुर महानगरको विकासबाट अरु महानगरले पाठ सिक्नु पर्ने उनको भनाइ छ । शिक्षा स्वास्थ्य सरसफाइ पूर्वाधार निर्माण सबै क्षेत्रमा भरतपुर महानगरले नमुना काम गरेको उनको भनाइ छ ।
सामुदायिक वन परिसरमा वनको समेत आर्थिक सहभागितामा ३७ लाख ८५ हजार ६३२ रुपैयाँको लागतमा उद्यान निर्माण गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष देवकुमार गुरुङले बताए । ३० लाख महानगरले हाल्ने र बाँकी सात लाख ८५ हजार ६३२ रुपैयाँ सामुदायिक वनले लगानी गर्ने गरी महानगरसंग सम्झौता भएकोे उनको भनाई छ ।
माघ ९ गते सम्झौता भई २०७८ असार २५ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको उनले बताए । यसबाट करिब ४५ हजार जनसंख्या लाभान्वित हुने उनले बताए ।
























