कालिका
चितवनका चेपाङ बालबालिका पढ्ने सिद्धि छात्रवासमा खाधान्न अभाव

निशा श्रेष्ठ
चितवन, माघ ८-
चितवनको कालिकामा रहेको सिद्धि छात्रवासमा खाधान्न अभाव भएको छ ।
कालिका नगरपालिका–१० दोभानमा रहेको चेपाङ छात्रबासमा खाधान्नलगायतका सामग्री अभाव हुँदा त्यहाँ आश्रित बालबालिका समस्यामा परेका हुन् ।
छात्रवासका अध्यक्ष भरत चेपाङले नुन, तेल, चामललगायतका अत्यावश्यक खाधान्न सामग्रीको अभाव हुँदा भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको बताए । छात्राबासमा अहिले १५ छात्र र २५ छात्रासहित ४० जना चेपाङ बालबालिकाहरु आश्रित रहेका छन् ।
१२ देखि १८ वर्षका बालबालिका रहेको सो आश्रममा खाधान्न अभाव भएपछि त्यहाँ आश्रित बालबालिका बिचल्लीमा परेका हुन् । ‘छात्रबासमा तत्काल खानकै लागि पनि नुन तेल चामल छैन, आर्थिक अभावले छात्रबास सञ्चालन गर्न धौ धौ प¥यो’ अध्यक्ष चेपाङले भने । अन्य समयमा पनि अरु व्यक्तिकै सहयोगबाट सञ्चालनमा आउने गरेको उनले बताए । छात्रबासमा अहिले विपन्न परिवारका सिमान्तकृत समुदाय चेपाङ बालबालिकालाई पढाइ तथा आश्रय पाइरहेको उनले बताए । अध्यक्ष भरत चेपाङ र उनकी श्रीमती ज्ञानिता राईले जग्गा बेचेर २०७४ सालबाट सो छात्रबास सञ्चालनमा ल्याएका हुन् ।
अहिले सुनैलो किरण संस्थाद्वारा सो छात्रवास सञ्चालनमा छ । भौगोलिक विकटता तथा आर्थिक अभावका कारण पढ्न नपाएका बालबालिकालाई शिक्षाबाट विमुख हुन् नदिन छात्रवास सञ्चालन गरिरहेको उनले बताए । आश्रम विभिन्न व्याक्तिले दिएको सहयोगमा चल्ने भए पनि पछिल्लो समयमा सहयोग कम हुँदा समस्या परेको हो । अध्यक्ष चेपाङले स्थानीय तहबाट संस्था दर्ता बाहेक अन्य सहयोग नपाएको गुनासो गरे ।


























