Breaking News

चितवनको रत्ननगरमा १५ करोड लगानीमा अत्याधुनिक सिटी सेन्टर बन्दै, मेयर वनद्वारा शिलान्यास

Banner

चितवन, माघ १-

सौराहाका व्यवसायीको १५ करोड लगानीमा रत्ननगरमा बन्ने सिटी सेन्टरको बुधबार शिलान्यास भएको हो ।

सौराहा एडभेन्चर प्राइभेट लिमिटेडले रत्ननगर–१ पुरानो ज्योतिहल रहेको ठाउँमा बनाउन लागेको सिनेमाहल सहितको सुविधा सम्पन्न सिटी सेन्टरको रत्ननगरको नगरप्रमुख नारायण वनले शिलान्यास गरेका हुन् । सौराहाका १५ जना व्यवसायीले १५ करोड लगानी गरेर पूर्वी चितवनमै सबै भन्दा ठूलो सिटी सेन्टर सञ्चालन गर्न लागेको व्यवसायीहरुले जनाएका छन् । सौराहा भेन्चरमा क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे, पूर्वअध्यक्ष नारायण भट्टराई, रेस्टुरेस्ट एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान)का अध्यक्ष दीपेन्द्र खतिवडा र ज्ञानेन्द्रकुमार विष्ट लगानीकर्ता छन्।

सिटी सेन्टरको शिलान्यास गर्दै नगरप्रमुख वनले भाटभटेनी बजारको झझल्को आउने गरी पूर्वी चितवनमा एउटा सुविधा सम्पन्न सपिङ सेन्टरको आवश्यकता रहेको भन्दै व्यवसायीले सञ्चालन गर्न लागेको सिटी सेन्टरले त्यो आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले शहरीकरण तर्फ उन्मुख रत्ननगरमा सञ्चालन हुन लागेको सिटी सेन्टर पूर्वी चितवनबासीको एकमात्र रोजाइको विषय बन्ने बताए ।

प्रालिका सदस्य तथा क्षेत्रीय होटल संघ चितवनका निर्वतमान अध्यक्ष सुमन घिमिरेले ६ महिनाभित्र सपिङ सेन्टर सञ्चालनमा ल्याउने र सिनेमाहल सबै संरचना सञ्चालनको लागि दुई वर्ष लाग्ने बताए । उनले सौराहाका होटल तथा रेष्टुरेन्टहरुलाई आवश्यक पर्ने सबै सामग्रीहरु सिटी सेन्टरबाट उपलब्ध हुने गरी पसलहरु सञ्चालन हुने बताए । प्रालिका अध्यक्ष नारायण भट्टराईले सिटी सेन्टरले रत्ननगरलाई व्यापारिक केन्द्रको रुपमा स्थापित गराउदै रोजगारीको सृजना गर्ने बताए ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेको ९ कठ्ठा ७ धुर जग्गा २५ वर्षका लागि लिजमा लिएर यो कम्पनीले सेन्टर बनाउन लागेको हो । सिटी सेन्टर तीन तलाको हुनेछ । पहिलो तलामा ग्रोसरी, दोस्रो तलामा किचेन वेयर तथा इलेक्ट्रिकल सामानहरु र तेस्रो तल्लामा क्लोथिङ हुनेछ । तेस्रो तल्लामै रेष्टुरेन्ट र सिनेमा हल हुनेछ । चितवनमा मध्यमवर्गको उपस्थिति बढ्दो क्रममा रहेकोले अत्याधुनिक मल निर्माणलाई प्राथमिकता दिएको लगानीकर्ताहरुले बताएका छन् । काठमाडौंपछि कुनै पनि वस्तुको कारोबारका हिसाबले चितवननै अग्रपंक्तिमा आउँछ । मुलुकका विभिन्न क्षेत्रका वासिन्दाको बसाईसराई र व्यवस्थित बसोबासका हिसाबले चितवन अहिले केन्द्रमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>