अर्थ

निजी क्षेत्र सरकारको बिना लगानीको सहयात्री: वरिष्ठ उपाध्यक्ष ढकाल

Banner

 

पोखरा, पुस १५

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको सहयात्री भएको बताएका छन् ।

पर्यटकीय नगरी पोखराको सराकोटमा सोमबारदेखि सुरुभएको आइएमई लिटरेचर फेस्टिभलमा ‘कोरोनाकालिन उद्योग वाणिज्य’ विषयक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा हेर्दैन तबसम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका छन् ।

मलेसियाले छोटै समयमा गरेको विकासका नमूनाबारे उदाहरणहरु प्रस्तुत गर्दै ढकालले जबसम्म राज्यले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिँदैन निजी क्षेत्रको लगानी विस्तार हुन नसक्ने बताए । आइएमई गु्रपका अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

‘राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरु भए पनि निजी क्षेत्रको लगानी आउन सक्दैन । राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीलाई निरुत्साहित गरेको छ । सबै व्यवसायीलाई एउटै बास्केटमा राखेर हेर्नुहुँदैन,” उनले भने ।  कोभिड–१९ को सबैभन्दा ठूलो असर व्यवसाय क्षेत्रमा परेको बताउँदै ढकालले कोभिड–१९ ले प्रभाव पारेको अर्थतन्त्रलाई लयमा ल्याउन राज्यले विशेष कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताए ।  उनले सरकारले ल्याएको राहत अपुरो भएको टिप्पणी गर्दै सो राहत सम्बन्धित व्यवसायीले समेत पाउन नसकेको बताए । मौद्रिक नीति तथा बजेट आउँदा कोभिडको अहिलेको अवस्थालाई परिकल्पना नगरिएको बताउँदै उनले अहिलेका समस्याहरु सम्बोधन गर्नका लागि बजेट तथा मौद्रिक नीतिको पुनरावलोकन गर्नुपर्ने जोड दिए ।

मुलुकलाई आर्थिक विकास तथा सम्मृद्धिको बाटोमा अगाडि बढाउन सर्वप्रथम कोभिडबाट प्रभावित व्यवसायलाई पुरानै लयमा ल्याउन जरुरी रहेको बताउँदै यसका लागि राज्यले विशेष ध्यान दिनुपर्ने धारणा राखे ।  कोभिड–१९ को महामारीले नयाँ नयाँ व्यवसायहरुको अवसर पनि सृजना गरेको बताउँदै उनले यसले डिजिटल इकोनोमिको अवसर सृजना गरेको विचार राखे । सोमबारदेखि सुरुभएको नवौं आइएमई लिटरेचर फेस्टिभल बुधबार सम्पन्न भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>