चितवन विशेष
संसद विघटनविरुद्ध भरतपुरमा नागरिक आन्दोलन चितवनको प्रदर्शन

चितवन पुस १२-
प्रधानमन्त्री केपी शर्मा ओलिको संसद विघटनको कदम प्रतिगामी र गैरसंवैधानिक रहेको भन्दै चितवनमा प्रदर्शन भएको छ। आज (आइतबार) संविधानमाथिको आक्रमणविरुद्ध नागरिक आन्दोलन चितवनले संसद विघटन विरुद्धमा विभीन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको हो ।
कवि ,लेखक एवंम स्वतन्त्र सचेत नागरिक उपस्थित रहेको विरोध कार्यक्रममा ‘अरिंगल र दास होइन नागरिक बनौ’,‘संविधान विधटनको दुस्साहस लोकतन्त्रको उपहास’,‘दलिय स्वार्थभन्दा माथि उठौं, निसर्त संविधानको रक्षा गरौं’ लगायतका नारा लेखिएका पोस्टरहरु सहित प्रदर्शन गरिएको छ ।
नागरिक आन्दोलन चितवनका संयोजक डा. जीवन क्षेत्रीले केपी शर्मा ओलिले संसद विघटन गरी लोकतन्त्र नै धरापमा पार्ने प्रयास गरेको बताउँदै सचेत नागरिकको हिसाबले सक्रिय युवा एवं नागरिक मिलेर निरन्तर सत्तासंस्थापनलाई चुनौती दिदैं खबरदारी गर्ने बताए ।
यस्तै कवि एवंम लेखक सरिता तिवारीले दुईतिहाईको सरकारले संविधानमा हुर्दै नभएको व्यवस्थाको जिकिर गर्दै संसद विधटन गर्नु सरासर अपराधिक, अवैध काम भएको भन्दै तुरुन्तै सच्याइनुपर्ने बताइन । प्रधानमन्त्री र राष्ट्रप्रतिले गरेको काम तुरुन्तै सच्याउँन खबरदारी गर्दै उनीहरुलाई तुरुन्तै कारवाहीको माग गर्दै सडक आन्दोलन थालिएको बताइन ।
नागरिक आन्दोलन चितवनले आज प्रेस विज्ञप्ती जारी गर्दै थप विरोध र खबरदारीका कार्यक्रम गर्ने जनाएको छ् । आगामी दिनमा निरन्तर रचनात्मक विरोध कार्यक्रम जारी रहने विज्ञप्तिमा उल्लेख छ ।


























