देश/प्रदेश
संसद पुर्नस्थापना होइन, अबको आन्दोलन जनगणतन्त्रको निम्तिः क्रान्तिकारी माओवादी नेता गजुरेल

काठमाडौं, पुस ७-
नेकपा (क्रान्तिकारी–माओवादी)का वरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटन प्रतिगामी भए पनि त्यसको पुर्नस्थापनाको लागि नभई अब आफूहरुले जन–गणतन्त्रको स्थापनाको लागि लडाई लड्ने उद्घोष गरेका छन् ।
मंगलबार राजधानीको संवाद डबलीमा भएको पत्रकार साक्षात्कार कार्यक्रममा बोल्दै मुलतः संसदीय व्यवस्था नै देशका निम्ति अभिषाप भएको समेत बताएका हुन् ।
२३ दलीय मोर्चाको नेतृत्वकर्तासमेत रहेका गजुरेलले नेपाली भूमिमा बारम्बार हुने आन्दोलनका उपलब्धिहरु खेर जान र पुनः देश अस्थिरतामा जानुको मुल कारण नै संसदीय व्यवस्था रहेको बताए । उनले एकथरीले प्रतिगमनको कदम चाल्ने र अर्को थरी त्यसको विकल्प संसद पुर्नस्थापनाको लागि तत्पर छन् । दुवै थरीबाट जनता प्रताडित बाहेक केही नहुने बताउँदै भने, ‘ओलीले प्रतिगमन गरे त्यसको विरुद्धमा शक्तिको बाघडोरमा जान प्रचण्ड तयार छन्, उनी नभए माधव नेपाल ती नभए देउबा जो भए पनि जनताले के पाउने त्यो भन्दा यो व्यवस्थाकै खारेजमा जानु उचित छ ।’
नेता गजुरेलले अहिले सत्तासिन दलमै ठूलो संकट र विभाजन आएको छ । यो अवस्थामा एकले अर्कोलाई कारबाहीको हिलो छ्यापा–छ्यापमा लागेको र दुबै पक्षमा शक्ति र वैधानकिताको चरम लडाइ चलेको र यसबेला देश गम्भीर दुर्घटनामा जानसक्ने संकेत पनि गरे । ओलीले आफू सत्ता र शक्तिमा रहनका निम्ति संकटकालको समेत तयारी गरेको खुलासा गरेका छन् । कसैलाई शक्तिमा पु¥याउन फेरि तपाइँहरु अर्को आन्दोलन् या संघर्ष भन्दै हुनुहुन्छ जनताले किन लड्ने, भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘हो हामी पनि त्यही भनिरहेका छौं बारम्बार घुमिफिरी संसदीय व्यवस्थाको निम्ति होइन अन्तिम लडाई यो वर्तमान व्यवस्था र जनगणतन्त्रका लागि लडौं भन्ने हो ।’ गजुरेलले थपे ‘अहिले ओली असफल भन्ने गरिन्छ तर उनी मात्रै होइन सिंगो लोकतान्त्रिक गणतन्त्र फेल भएको हो, संसदीय व्यवस्थाभित्र देशी–विदेशी शक्तिहरुले खेल्ने र जनविरोधी दलालहरु मोटाउने र पोसिने रक्षाकवज हुन्छ, त्यसको एकमात्र स्थायी निकास जन–गणतन्त्र हो ।’ गजुरेलले आफ्नो पार्टीसहितको २३ दलीय मोर्चाले छिट्टै संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताए ।
























