चितवन विशेष

चितवनको माडीमा थुनिएको परुइ खोला खोलिने

Banner

चितवन,पुस ६-

पहाड झरेर थुनिएको माडीको परुइ खोलाको पहिरो पञ्छाउने काम थालिने भएको छ । पुस १ गते सोमेश्वर पर्वत श्रृङ्खलामा पर्ने एउटा डाँडो भत्कदाँ खोला पुरिएको थियो । माडी नगरपालिका वडा नं। ७ र ८ को सिमानामा पर्ने परुइ खोलाको ५०० मिटर क्षेत्र २० मिटरभन्दा बढी उचाइसम्म पुरिएको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले थुनिएको खोलामा पानी भरिँदै गएमा वर्षात्मा एकै साथ फुटेर ठूलो नोक्सान हुन सक्ने बताउनुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको विपद् व्यवस्थापन समितिको टोलीले आज सो क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ ।

अध्ययन तथा अनुगमनपछि नगर प्रमुख ढकालले तत्काल जेसिवी लगेर खोला खोल्ने काम शुरु गर्ने निर्णय भएको जानकारी दिनुभयो । नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा नगरपालिकाको प्राविधिक टोलीले काम थाल्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जेसिवी लगेर काम गर्न सकिन्छ वा सकिदैन यसै भन्न सकिदैन तर हामी प्रयास गर्दैछौँ ।” खोला थुनिएको ढिस्को कमजोर र गढ्न सक्ने भएकाले जेसिवीबाट काम गर्न कठिन छ ।

अहिले पहिराले थुनेको ठाउँमा तीन मिटर हाराहारी पानी छ । ढकालका अनुसार वर्षात्को समयमा पानी थुनिएर पहिरो फुटेमा माडी नगरपालिकाका वडा नं ५, ८ र ९ बाहेकका सबै वडामा प्रभाव हुनेछ । सम्भावित क्षति न्यूनीकरणका लागि तत्काल समस्याको समाधानको खोजी गर्न लागिएको उहाँको भनाइ छ ।

खोला थुनिएको क्षेत्रमा निकै अग्लो बाँध बनेको छ । खोला थुनिएपछि तल्लो क्षेत्रमा खानेपानी र सिँचाइका लागि सङ्कट शुरु भएको स्थानीयवासीको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>