चितवन विशेष
भरतपुरमा घरेलु फोहोर व्यवस्थापनको अवस्था चित्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

चितवन पुस ६-
घरेलु फोहोर व्यवस्थापनको अवस्था चित्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रम चितवनमा सुरु भएको छ । आज(सोमबार)देखि नेपाल विकास समाजको आयोजना तथा भरतपुर महानगरपालिका भित्रका १ देखि १० नं वडाको संयोजनमा अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।
नेपाल विकास समाज , भरतपुर ५ विकासचोकमा आयोजित अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथी भ.म.न पा ५ का वडाअध्यक्ष पदमपाणी सुवेदीले घरको फोहोर व्यवस्थापन प्रमुख चुनौती रहेको बताए । उनले घरको फोहोर कुहिने नकुहिने छुट्टाएर आफैं व्यवस्थापन गर्दै फोहोरको मात्रा घटाउदै लग्नुपर्ने सुझाव समेत दिए । बाहिरी क्षेत्रमा पनि एउटा्ले फोहोर गर्दै जाने अर्कोले सफा गर्दै जाने कुरा असम्भव भएको बताउँदै उनले सहर सफा राख्नको लागि आफ्नो जिम्मेवारी महत्वपूर्ण हुने बताए।
कार्यक्रममा बोल्दै नेपाल विकास समाजका संस्थापक सदस्य एवंम वातावरण विज्ञ कालिदास न्यौपानेले संस्थाको बारेमा बताउँदै ७ वर्षदेखि निरन्तर रुपमा समाजमा भएका समस्यालाई राम्रोसँग केलाउदै समाधानका उपाय खोज्दै निराकरणको बाटोमा लागेको जानकारी दिए । वातावरण बिज्ञ न्यौपानेले पछिल्लो समयमा घरेलु फोहोर र यसको अवस्थाको बारेमा कार्यक्रममा सहभागिलाई अभिमुखीकरण गरेका थिए।

संस्थाकी कार्यकारी निर्देशक डा. स्वेता कोइरालाले वातावरणको क्षेत्रमा युवा सचेत हुनुपर्ने बेला आएको बताइन । उनले आफै उत्पन्न गरेको फोहोर कसरी व्यवस्थापन गर्ने गरेका छौ भन्ने प्रश्न आफैलाई पहिले सोध्न जरुरी रहेको बताउँदै परिवर्तन आफै र आफ्नै घरबाट सुरु गर्नुपर्ने सुझावसमेत दिइन ।

अभिमुखी कार्यक्रम तीन दिन चल्नेछ । अभिमुखी कार्यक्रमप्रश्चात स्थानिय १० जना गणकहरुद्धारा भरतपुर महानगभित्रका १देखि १० नं वडामा घरेलु फोहोर अवस्थाको चित्रण अध्ययन एवंम तथ्याङ्क संकलन गरिने नेपाल विकास संस्थाकि कार्यक्रम संयोजक सिम्रीन काफ्लेले जानकारी दिइन ।
एक महिनासम्म चल्ने तथ्यांक संकलन एवं अध्ययन कार्यक्रमका लागि वडा देखि महानगरसम्म समन्वय गरेको कार्यक्रम संयोजक काफ्लेले बताइन ।
यस्तै उक्त अध्ययनको नतिजा प्रयोग गरि फोहोर न्यूनीकरणका र व्यवस्थापनका लागि योजना तर्जुमा एवंम विभिन्न कार्यक्रम गरिने संस्थाकी कार्यक्रम अधिकृत प्रकृति न्यौपानेले जानकारी दिइन ।


























