राजनीति
भारतको इशारामा ओलीलाई काम गर्न दिइएन,त्यसैले संसद विघटन भयोः नारायणमान बिजुक्छे

काठमाडौं,पुस ५-
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु स्वभाविक रहेको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रतिक्रिया दिँदै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले अहिलेको परिस्थिति सिर्जना भएको बताएका हुन्।
पार्टीभित्र सरकारलाई काम गर्न नदिएको, भ्रष्टाचारी, कालोबजारीलाई बचाउन पार्टीभित्र दबाब, संवैधानिक निकायमा भागबन्डा लगायतका मतभेदका कारण केपी शर्मा ओली सरकारलाई काम गर्न बाटो रोकिएकोले देशलाई जोगाउन संसद विघटन गरेर नयाँ निर्वाचनमा जानु रहेको बिजुक्छेले बताएका हुन्।
संसद घोषणा गरेर निर्वाचनको मिति जारी गर्नुलाई आफूले स्वभाविक प्रक्रियाको रुपमा लिएको उनको भनाइ थियो। देशमा जसरी पहिला संसदहरु विघटन भए मैले यसलाई पनि यही प्रक्रियाको निरन्तरताको रुपमा लिएको छु, बिजुक्छेले भने।
संवैधानिक रुपमा संसद विघटनको विषयमा धेरै व्याख्याहरु हुने भन्दै उनले भने,संविधानमा दोषहरु छन्। अविश्वासको प्रस्ताव, विश्वासको मत लिनुपर्ने लगायका चरणहरु संविधानमा छ। प्रधानमन्त्रीलाई काम गर्ना नदिने गरी बाधिएको हुन्छ। त्यस्तो अप्ठेरो स्थितिमा काम गर्न नसकिने भएकोले ओलीले नयाँ कदम लियो। त्यो औचित्यतता पूर्ण छ। कानूनले मिल्छ मिल्दैन भन्ने कुरा पछि अदालतले हेर्छ।
प्रधानमन्त्रीलाई यो कदम चाल्न ओलीका विरोधीहरुले बाध्य पारेको उनले बताए। ओलीका विरोधीहरु कहाँबाट संचालित छन् भनेर भन्नुपर्दा यसमा भारतको हात छ,उनले भने। भारतकै इशारामा विरोधीहरुले ओलीलाई काम गर्न नदिएको भन्दै उनले ओली अन्तिमसम्म लड्ने विश्वास व्यक्त गरे।
























