नवलपरासी

पदयात्राको गन्तव्य बन्दै ‘देवचुली डाँडा’

Banner

दयाराम आचार्य

कावासोती, पुस ५–

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा पदयात्राको गन्तव्य बन्दै गएको छ । जिल्लाकै सबैभन्दा अग्लो डाँडाका रूपमा रहेको देवचुलीमा अहिले दैनिक उल्लेख्यरूपमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । समुद्र सतहबाट एक हजार ९३४ मिटर उचाइमा रहेको देवचुली डाँडा पैदलयात्रामा रुचि हुनेहरूको रोजाइमा पर्न थालेको छ । पदैलयात्राका क्रममा देखिने प्राकृतिक छटाले यहाँ पुग्ने पर्यटकको मन प्रफुल्लित बनाउने गरेको छ ।

हरियो वनले ढाकेका पाखा, दक्षिण क्षेत्रमा नवलपुरको राजमार्ग, वरपरका बस्ती र अविरल बगिरहेको नारायणी नदीको दृश्यले पदयात्राका क्रममा हुने थकाइलाई बिर्साइदिन्छ । उत्तरतर्फ देखिने हिमशृङ्खला सुन्दरता झनै मनमोहक हुने गर्दछ । पहाडको टुप्पोमा पुग्दा माछापुच्छ«े्र, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खला समीपमा देखिन्छन् । जसले यहाँ पुग्ने सबैलाई आकर्षित बनाउँदछ ।

पदयात्राका लागि अहिले जिल्लाका आन्तरिक पर्यटकसहित चितवन, नवलपरासी पश्चिम, रुपन्देहीलगायत आसपासका ठाउँबाट यहाँ पर्यटक आउने गरेका छन् । देवचुली डाँडा पुग्दा निकै रमाइलो अनुभूति भएको मध्यविन्दुका सुवास खत्रीले सुनाउनुभयो । “चढ्दा केही अप्ठ्यारो त हुन्छ नि, तर जब डाँडाको टुप्पोमा पुगिन्छ, त्यहाँबाट देखिने हिमशृङ्खला, पहाडका टाकुराले मनै आनन्दित बनाउँछ”, खत्रीले भन्नुभयो । यति लामो पदयात्रा पहिलोपटक गरेको बताउने उहाँले फेरि फेरि पनि आफू आउन लालयित भएको बताउनुभयो ।

पूर्वपश्चिम राजमार्गको दलदलेबाट मुण्डे–पोखरी हुँदै जाँदा करिब २५ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ । बोझापोखरीसम्म २० किलोमिटरमा यातायातको सुविधा छ । त्यसपछि भने पैदलयात्रा गर्नुपर्ने हुन्छ । बोझापोखरीबाट करिब तीन घण्टाको पैदलयात्रापछि देवचुलीको टुप्पोमा पुगिन्छ । देवचुली टुप्पोबाट तनहुँ, पाल्पा, कास्कीलगायतका जिल्लाका भूभागसमेत अवलोकन गर्न सकिन्छ ।

दलदले मुण्डे–कीर्तिपुर हुँदै समेत देवचुली डाँडा पुग्न सकिन्छ । यो मार्ग भएर जाँदा करिब १६ किलोमिटर पर्छ । कीर्तिपुरसम्म सवारी जान्छ, त्यसपछि पैदलयात्रा शुरु हुन्छ । कीर्तिपुर हुँदै जाँदा करिब तीन घण्टाको पैदलयात्रा गरेपछि टुप्पोमा पुग्न सकिन्छ । बोझापोखरीमा आवासका लागि पर्याप्त होटल छन् । चुलीबोझामा मगर समुदायले सञ्चालन गरेको घरवाससमेत छ । देवचुलीको टुप्पोबाट सूर्योदयको दृश्य हेर्न जानेहरु अघिल्लो साँझ नै बोझापोखरीमा गएर बस्ने गर्दछन् । साँझ बस्नेहरु बिहानै पैदलयात्रामा निस्किन्छन् । सूर्योदयको दृश्य हेर्न आउनेहरु अघिल्लो साँझ नै बोझामा बास बस्ने गरेको स्थानीय भविलाल गाहामगरले बताउनुभयो । अहिलेको समयमा दैनिकजसो ९÷१० समूह साँझ नै बोझा आउने गरेको उहाँले बताउनुभयो । यसले यस क्षेत्रको व्यापार–व्यवसायसमेत बढाएको गाहामगरले बताउनुभयो ।

देवचुली डाँडाको पदैलमार्गमा समेत केही साना होटल रहेका छन् । सामान्य खाना र आवासको सुविधा छ । कोही राति यिनै साना होटलमा पुग्ने गर्दछन् । यसले बिहान थोरै हिँडेर पनि टुप्पोसम्म पुग्न सकिन्छ । देवचुली डाँडाको टुप्पो पुग्नुअघि तीनकन्या माईको मन्दिरसमेत रहेको छ । गुफाभित्र अवस्थित यस मन्दिरमा थारू समुदायले प्रत्येक वर्ष चैत पूर्णिमा दिन विशेष पूजा गर्ने गर्दछन् । यसै स्थानमा पाँच वर्षमा एकपटक कन्तरी माईको पूजा गर्ने चलनसमेत छ । तीनकन्या माईको मन्दिर रहेको गुफामा परापूर्वकालमा पाँच पाण्डव गुप्सवास बसेको समेत किंवदन्ती छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा रहेको देवचुली डाँडामा आवश्यक पूर्वाधार नहुँदा भने यहाँ पुग्ने पर्यटकले असहज महसुस गर्ने गरेका छन् । खानेपानीको समस्या, पर्याप्त विश्रामस्थल नहुँदा यात्रा केही असहज हुने गरेको यहाँ पुग्ने पर्यटकले गुनासो गर्ने गरेका छन् । पदमार्ग निर्माण गरी यसलाई व्यस्थित बनाउन सके यहाँ उल्लेख्यरूपमा पर्यटक आउने देवचुलीका स्थानीयवासी युवा राजु चापागाईँले बताउनुभयो ।

देवचुली डाँडा जिल्लाकै उत्कृष्ट पर्यटकीय क्षेत्र भएकाले यसको व्यवस्थापनमा काम थालिएको देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीले बताउनुभयो । लिफ्टमार्फत खानेपानी व्यवस्थापन गर्ने, पदमार्गको निर्माणलगायत योजना रहेको उहाँले बताउनुभयो । पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश र सङ्घीय सरकारले यस वर्ष रु १० लाखका दरले बजेट विनियोजन गरेको उपप्रमुख तिवारीले बताउनुभयो ।

गत वर्ष पनि प्रदेश सरकारले पदमार्ग निर्माणका लागि रु १० लाख विनियोजन गरेको थियो । सो बजेटबाट केही अप्ठ्यारो स्थानमा पदमार्ग र बाटो निर्माणको काम भएको उहाँले बताउनुभयो । पर्यटनको प्रचुर सम्भावना रहेको देवचुली डाँडा गण्डकी प्रदेशभित्रका ११० पर्यटकीय गन्तव्यभित्र पर्दछ । प्रदेश सरकारले सार्वजनिक गरेको पर्यटकीय गन्तव्यमा नवलपुरका १० गन्तव्यभित्र देवचुली डाँडा पर्दछ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>