राजनीति
पूर्व माओवादी नेताहरु कुन बेला जेल जानुपर्छ ठेगान छैनः देव गुरुङ

बुटवल पुस २-
नेकपाका प्रमुख सचेतक देव गुरुङले शान्ति प्रक्रिया अझै टुंगोमा नपुगेकाले पूर्व माओवादी नेताहरु जुनसुकै बेला जेल जानुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ । बिहीबार बुटवलमा आयोजित एक कार्यक्रममा गुरुङले पूर्व माओवादी पार्टीका करिब सात हजार नेता कार्यकर्तामाथि अझै पनि सशस्त्र द्वन्द्वकालका करिब चारसय मुद्धा बाँकी रहेकाले कुन बेला जेल जानुपर्ने हो ठेगान नभएको बताउनुभयो । ‘द्वन्द्वकालका मुद्धा हल हुन दिइएको छैन, अझै सात हजार नेता–कार्यकर्ताको नाममा झण्डै चारसय मुद्धा जस्ताको तस्तै छन्’– भने, ‘विभिन्न हथ्कण्डा अपनाएर कुन बेला जेल जानुपर्छ ठेगान छैन ।’
नेता गुरुङले नेपालमा विदेशी हस्तक्षेप र प्रभुत्व बढेको र फुटाऊ र शासन गर नीति अनुसार नेपाललाई अस्थिर बनाइराख्ने खेल भइरहेको तर्क गर्नुभयो । ‘विदेशी हस्तक्षेप रोक्न नसके मुलुक अफगानिस्तान, सिरिया र सिक्किम हुनसक्छ, विदेशी सैनिकको क्रिडास्थल बन्नसक्छ’–गुरुङले भन्नुभयो ।
अर्को प्रसंगमा उनले पार्टीमा मतभेद हुनेवित्तिकै फरक मत राख्नेलाई निषेध गर्ने प्रवृत्ति बढेको बताउनुभयो । आफूलाई प्रमुख सचेतक पद कसैको व्यक्तिगत चाहनाले नभई पार्टीले संस्थागत निर्णय गरेर दिएको भन्दै गुरुङले पार्टीको निर्णयविना राजीनामा नदिने स्पष्ट पार्नुभयो ।
























