मध्य नेपाल

वडामै पुगेर योजना सम्झौता गर्दै देवघाट गाँउपालिका

Banner

देवघाट,मंसिर २२-

देवघाट गाउँपालिकाले वडास्तरमै पुगेर योजना सम्झौता शुरु गरेको छ । चालु आर्थिक वर्ष ०७७÷७८ को नीति, कार्यक्रम तथा बजेट बमोजिम सञ्चालन हुने योजना वडास्तरमै पुगेर सम्झौता शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीयवासीलाई घरदैलोबाटै सेवा दिने उद्देश्यका साथ देवघाट गाउँपालिका–१ बाट योजना सम्झौता शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिनुभयो । योजना सम्झौता गर्नका लागि उपभोक्तालाई गाउँपालिकाको कार्यालयमा आउनुपर्ने बाध्यताको अन्त्य गर्न वडामा पुगेर योजना सम्झौताको अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । “योजना सम्झौताका लागि गाउँपालिकामा आउनुपर्दा जनताले दुःख पाए,” उहाँले भन्नुभयो, “वडामै पुगेर योजना सम्झौता गरिदिँदा जनतालाई सहज हुने भयो ।”

वडामै पुगेर योजना सम्झौता गर्दा त्यस ठाउँको बारेमा जानकारी प्राप्त हुने र योजना सञ्चालनमा सहज हुने विश्वास गरिएको छ । “समयमै योजनाको सम्झौता गरी गुणस्तरीय काम सम्पन्न गर्न उपभोक्तालाई आग्रह गरेका छौ,”वडा नं १ मा सञ्चालन हुने १२ विकास योजनाको सम्झौता गरिएको छ ।

गाउँपालिकाका इन्जिनीयर तीर्थराज ढुङ्गानाका अनुसार आडबजे कुलो मर्मत, गोपीटार साना सिँचाइ, च्वारखोला कुलो मर्मत, झ्याडी खोला कुलो मर्मत, बसेनीटार खहरे कुलो मर्मत, बाघढुडे कुलो मर्मत, गहते खानेपानी तथा सरसफाइ योजना लगायतको सम्झौता गरिएको छ ।

“योजना सम्झौता सँगसँगै उपभोक्तालाई अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरेका छौ,” उहाँले भन्नुभयो, “प्रत्येक वडामा पुगेर योजना सम्झौता गर्ने तयारी छ ।”योजना सम्झौता गर्न गाउँपालिका आउँदा स्थानीयवासीले पूरा कागजात नल्याउने समस्या रहँदा दुई÷तीन पटकसम्म एउटै कामको लागि गाउँपालिका धाउनुपर्ने बाध्यता थियो । वडामै पुगेर योजना सम्झौता गर्नुपूर्व गाउँपालिकाका प्राविधिकले योजनाको लागत इष्टमेट तयार पारेका थिए । सोही बमोजिम उपभोक्ता समितिका पदाधिकारीलाई कागजपत्र व्यवस्थापन गर्न जानकारी गराइएको थियो । “वडामै पुगेर योजना सम्झौता गर्दा सम्झौताका लागि आवश्यकपर्ने कागजपत्र व्यवस्थापन गर्न पनि स्थानीय उपभोक्तालाई सहज भयो,” प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>