देश/प्रदेश
झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता

भद्रपुर (झापा), साउन १०-
जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध कारोबार तथा प्रयोगविरुद्ध प्रहरीले निगरानी र खोजी गर्दै दोषीमाथि कारबाही प्रक्रिया चलाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले एक वर्षको अवधिमा लागुऔषध नियन्त्रणतर्फ कूल ३९३ वटा मुद्दा दर्ता भएका जानकारी दिनुभयो ।
उहाँका अनुसार लागुऔषधसम्बन्धी मुद्दामा सङ्लग्न कूल ६०४ जना पक्राउ परेका छन्, तीमध्ये ५६३ पुरुष र ४१ जना महिला रहेका छन् । पक्राउ परेकामध्ये ३८७ वटा मुद्दा फछ्र्यौट भइसकेका छन् भने छ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् । यसैगरी पाँच जना प्रतिवादी अझै फरार रहेका प्रहरीले जनाएको छ ।
प्रहरीले यस अवधिमा तीन किलो ९४१ ग्राम ७९५ मिलिग्राम ब्राउन सुगर, १० किलो १९६ ग्राम २७० मिलिग्राम गाँजा, दुई लाख नौ हजार ६२४ पिस मनोद्विप ट्याब्लेट र एक हजार ८७० थान मनोद्विप एम्पुल बरामद गरेको छ । रासस

























