देश/प्रदेश
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक

बागमती, साउन ८-
हेटौँडा सहिद स्मारकमा गत आर्थिक वर्ष २०८२/८३ मा पाँच लाखभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । स्मारकमा स्वदेशी एवं विदेशी गरी पाँच लाख पर्यटकले भ्रमण गर्नुभएको व्यवस्थापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
हरेक दिन बिहान ६ः०० बजेदेखि बेलुका ९ः०० बजेसम्म खुल्ने स्मारकमा नेपाली सर्वसाधारणका लागि रु ५०, विद्यार्थीका लागि रु ३०, सार्क राष्ट्रका नागरिकका लागि रु १०० अन्य विदेशी राष्ट्रका नागरिकका लागि रु १५० प्रवेश शुल्क निर्धारण गरिएको उहाँले बताउनुभयो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ साल माघ १७ गते यस स्मारकको अनावरण गर्नुभएको थियो ।
देशका विभिन्न सङ्घर्षमा सहदत प्राप्त १२ जना सहिदहरुको स्मारक निर्माण गरी सुरु गरिएको यो स्मारकमा सहिद स्मृति स्तम्भ, सहिद ग्यालरी, मदन स्मारक (मदन बाटिका), प्रजातान्त्रिक पार्क, थाहा स्तम्भ, पर्यटक सूचना केन्द्र, चिडिया घर, फोहरासहितको पार्क, बालउद्यान, देवी मन्दिर, विवाह मण्डप, नर्सरी (ग्रिन हाउस), पौडी पोखरी, वनभोज स्थल आदि रहेका छन् । रासस

























