क्रिकेट

नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण मंसिर १० देखि

Banner

काठमाडौं, कार्तिक २२–

नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो मंसिर १० गते राष्ट्रिय क्रिकेट टिम पुरुषको बन्द परीक्षण सुरु गर्ने भएको छ ।
क्यानको शनिबार बसेको अनलाईन बैठकले सम्पूर्ण स्वास्थ्य प्रोटोकल पूरा गर्दै मंसिर १० गतेदेखि बन्द प्रशिक्षण सुरु गर्ने निर्णय गरेको हो ।
नेपाली टिमले किर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रशिक्षण सुरु गर्नेछ । अन्य देशहरुले सुरक्षा सावधानी अपनाउँदै प्रशिक्षसंगै प्रतियोगिता नै गर्न थालेपछि क्यानलाई प्रशिक्षण संचालन गर्न दवाब पर्दै आइरहेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)संग स्वीकृति लिएपश्चात क्यानले बन्द प्रशिक्षणको मिति तोकेको हो ।

यस्तै क्यानले खेलाडी वर्गीकरण छनौटलाई पुनरावलोकन गरेको छ । चितवनको भरतपुरमा बसेको क्यानको बोर्ड बैठकले खेलाडीको वर्गीकरण गरेको थियो । त्यसमा मुख्य खेलाडीहरुलाई कम ग्रेडमा झारेको र महत्वपूर्ण योगदान दिएका खेलाडीहरुलाई वर्गीकरणमै सामेल नगरिएको भन्दै कडा विरोध भएको थियो । खेलाडीहरुले वर्गीकरण पुनरावलोकन गर्नुपर्ने भन्दै निवेदन दिएपछि क्यानले नयाँ वर्गीकरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।

क्यानले तीव्र गतिका बलर सोमपाल कामीलाई ग्रेड ‘बी’ बाट ‘ए’ मा, अविनाश बोहरालाई ग्रेड ‘सी’बाट ‘बी’मा, ललित नारायण राजवंशीलाई ग्रेड ‘बी’ र सन्दीप जोरालाई ग्रेड ‘सी’मा राखेको छ ।

त्यसैगरी महिला क्रिकेट खेलाडीतर्फ सरस्वती चौधरीलाई ग्रेड ‘बी’मा, ममता चौधरी र सुमन खतिवडालाई ग्रेड ‘सी’मा राख्ने निर्णय गरेको छ ।

यस्तै क्यानको वार्षिक साधारणसभा आगामि मंसिर ३ गते हुने भएको छ । अध्यक्ष चतुरबहादुर चन्दले चितवनमा सम्पन्न बैठकको निर्णय अनुसार नै मंसिर ३ गते गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

यस्तै क्यानले अन्य विभिन्न निर्णयहरु समेत गरेको छ ।

भारतीय दुतावासको सहयोगमा किर्तिपुरस्थित टियु क्रिकेट मैदानको पबेलियन हलको स्तरोन्नती गर्ने, मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा ड्रेनेज निर्माण र स्तरोन्नती प्रक्रिया अगाडि बढाउने, दुर्गाराज पाठकको संयोजकत्व रहनेगरी नेशनल क्रिकेट एकेडेमी संचालन कार्यविधि निर्माण गर्ने, राष्ट्रिय क्रिकेट टिमलाई आवश्यक फिटनेस ट्रेनर हायर गर्ने, प्रशान्त विक्रम मल्लको संयोजकत्वमा ऋषि गौतम, दुर्गाराज पाठक, कैलाश विष्ट र छुम्बी लामा सदस्य रहने गरी दुई हप्ता भित्र तीन वर्षीय रणनैतिक योजना निर्माण गर्ने र प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामि डिसेम्बर अन्त्यमा संचालन गर्ने र सो को अनुमति लिने प्रक्रिया तत्काल अघि बढाइने निर्णय गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>