Breaking News

विस्तारपछि यस्तो बन्दैछ भरतपुरको पुल्चोक-गोन्द्राङ सडक, निर्माण कम्पनी छनोट

Banner

कृष्ण आचार्य,

चितवन,भदौ २६-

नारायणगढ बजारको पुल्चोकबाट गोन्द्राङसम्मको सडकलाई ६ लेनको बनाउन निर्माण कम्पनी छनोट गरिएको छ । सडक डिभिजन भरतपुर कार्यालयका अनुसार सबैभन्दा कम आर्थिक प्रस्तावका आधारमा निर्माण कम्पनी छनोट गरिएको हो । सडक निर्माण जिम्मा इण्डो सगुन जेभीले पाएको छ ।

सडक डिभिजन भरतपुर कार्यालयका इन्जीनियर विजय दराइले प्राविधिक प्रस्तावबाट आर्थिक प्रस्तावका लागि छनोट भएका १६ वटा कम्पनीमध्ये कम आर्थिक प्रस्तावका आधारमा निर्माण कम्पनी छनोट भएको बताउनुभयो । उहाँले अन्तिम छनोट भने सडक विभागले गर्ने जानकारी दिनुभयो ।

हाल दुईलेन रहेको ६ किलोमिटर सडकखण्डलाई ६ लेन बनाउन लागिएको हो । सडक सिमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ । नारायणगढ–वुटवल सडकखण्डकै आधारमा यो सडक निर्माण गरिने इन्जीनियर दराइले बताउनुभयो । सडकको दुवैतर्फ फुटपाथ, ढल, सर्भिस लने छुट्टाइएको छ । यस्तै छुट्टै टेण्डर मार्फत भरतपुर महानगरपालिकाले सडकको दुवैतर्फ स्मार्ट लाइट जडानको तयारी गरेको छ । सो सडकखण्डमा विद्युत अण्डरग्राउण्ड गर्ने तयारी नेपाल विद्युत प्राधिकरणले गरिरहेको छ ।

भरतपुर विमानस्थल अगाडीका केही घर सडकको ५० मिटर सीमा परिधिभित्र परेका छन् । सर्भेका क्रममा चार घर सडकको सीमाभित्र परेको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक सीमा अतिक्रमण गरेर बनाएका ती घर सडक विस्तारका लागि भत्काइनेछ । अन्य कुरामा कुनै समस्या नरहेको भरतपुर महानगरपालिकाले जनाएको छ । महानगरपालिका भित्र हाल आँपटारीदेखी केन्द्रीय बस टर्मिलन चोकसम्मको बाइपास सडक विस्तारको काम भइरहेको छ ।

पुल्चोक–गोन्द्राङ सडक विस्तारपछि नारायणगढ र भरतपुर बजार क्षेत्र व्यवस्थित हुने भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताउनुभयो । यो सडक बनेपछि भरतपुरको स्वरुप नै परिवर्तन हुने उहाँको भनाई छ । “दुई बर्षभित्र निर्माण सम्पन्न हुनेगरी काम अघि बढ्छ”,उहाँले भन्नुभयो, “महानगरपालिकाले आफ्नो तर्फबाट सबै काम गरिसकेको छ ।” उहाँले सडक निर्माणमा कुनै समस्या नहुने बताउनुभयो ।

प्रदेशसभा सांसद विजय सुवेदीले सडकलाई सौन्दर्यकरणसहित आकर्षक हरियाली सडकको रुपमा विस्तार गरिने बताउनुभयो । उहाँले भन्नुभयो,“एकसय बर्षसम्म पनि संरचना भत्काउन नपर्नेगरी सडक विस्तार गर्नुपर्छ, त्यसका लागि हामीले निरन्तर अनुगमन गरिरहन्छौं ।” यो सडकले स्मार्ट सिटीको झल्को दिने उहाँले बताउनुभयो । छ महिना अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समेत सडकको स्थलगत निरीक्षण गरेर जानुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>