Breaking News

लकडाउनको सुनसानले सौंराहाका बस्तीमा गैँडा, धानबाली सखाप पारेपछि किसान चिन्तित

Banner

दिपेन्द्र चौधरी (दिपेश)

सौराहा, भदौं १६-

लक डाउन अगाडि सौराहा आउने पर्यटकहरु बाटोमै गँैडा देख्न र सेल्फी लिन पाउँदा पर्यटकहरु अत्यन्तै खुसी हुन्थे । राइनो वाइकिङको रुपमा परिचत गैँडा अहिले सौराहा वरिपरीका किसानहरुको टाउँको दुखाइ बनेको छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्र पाइने दुर्लभ एकसिंगे गैँडा किसानका धानबाली सखाप पार्ने गरेको छ । करिब ६ वर्षका मेघौली नाम गरेको गैँडा मानव बस्तीमा पटकपटक आइरहन्छ । पसाउन लागेको धानबाली खाइदिएपछि यतिबेला किसानहरु चिन्तित भएका छन । लक डाउनका कारण आर्थिक रुपमा समस्या भोगिरहेका किसानहरु मानो रोपेर मुरी भित्र्याउने समयमा गैँडाले थप समस्या सृजना गरिदिएको किसानहरु बताउँछन् । दैनिक रुपमा गैँडा बस्तीमा प्रवेश गरेर धानबाली सखाप पार्ने गरेको उनीहरु बताउँछन् ।

रत्ननगर नगरपालिका–७ सिसुवारका चिरम महतोले गैँडाले धानबाली सखाप पारेको बताउनु भयो । उहाँले धान खेत देखाउँदै भन्नु भयो, ‘फुल्ने बेलाको धानबालीमा गँैडाले खाने र आहाल खेल्ने गरेर दुःख दिएको छ । पसाउन लागेको बाली खाइदिने, बालीमै आहाल बसिदिने जता गतिविधिले किसानहरु आजित बनेका छन् ।’

यता रत्ननगर नगरपालिका–७ कै विष्णु महतोले पनि गँैडाले दुःख दिएको गुनासो गर्नुभयो । ‘अहिलेको धान राम्ररी भित्र्याउन पाइएला जस्तो छैन’ उहाँले भन्नुभयो । ‘एक ठाउँमा मात्रै होइन, खेतका गराको बीच बीचमा पुगेर आहाल खेल्ने गरेको छ । यो नरोकिए यो वर्ष धान किन्नुपर्ने बाध्यता पर्छ’ उहाँले भन्नुभयो ।

‘हरेक दिन जसो गैँडा धान खेतमा आइरहन्छ । गैँडाले सखाप पारेको धानबाली हेरेर बस्नुको कुनै विकल्प छैन । गैँडालाई ब्यवस्थापनको लागि निकुञ्जको ध्यान जाओस्’ रत्ननगर–७ का गैँडाबाट पीडित मथुरा महतोले भन्नुभयो । दैनिक रुपमा बस्तीमा पसेर किसानको धानबाली सखाप बनाइरहेको छ । स्थानीयले गैँडा नियन्त्रणका लागि निकुञ्ज र मध्यवर्ती कार्यालयलाई पटक–पटक अनुरोध गर्दा पनि गैँडा नियन्त्रणमा निकुञ्जले चासो दिएको छैन ।

 

 

सरकारले बालीनाली क्षति बापत राहत दिने गरेको भए पनि राहत लिने प्रक्रिया झन्झटिलो रहेको किसानहरु बताउँछन् । मध्यवर्ती कार्यालयले क्षतिको विवरण संकलन, सामुदायिक वन र स्थानीय सरकारबाट प्रमाणित गरेपछि मात्रै निकुञ्जले क्षतिपूर्ति बापत राहत प्रदान गर्ने गरेको छ । वन्यजन्तु र मानव बीचको द्वन्द्व कम गर्न निकुञ्ज र सामुदायिक वनहरुले लाखौ रुपैयाँ खर्च गर्छन् । तर, वन्यजन्तुका कारण बालीनाली नोक्सान हुने समस्या अझै जस्ताको तस्तै नै छ । हरेक वर्ष किसानका बालीनालीहरु जंगली जनावरबाट नोक्सान हुने गरेको छ ।

बाघमारा सामुदायिक वनका उपभोक्ताको बालीनाली जंगली जनावारले नोक्सान गरेको अथवा क्षतिपूर्तिका लागि सामुदायिक वनले सहजीकरण गर्दै आएको वनका अध्यक्ष जीतबहादुर तामाङले बताउनु भयो भने पहिला सामुदायिक वनबाट नै दिने गरिएको थियो तर हाल मध्यवर्तीबाट क्षतिपूर्ति दिने भएकोले हामीले सहजीकरणको भूमिका निर्वाह गर्छौ ।  यसरी गैँडा पटकपटक बस्तीमा आइरहनु राम्रो होइन । यी गैँडाहरुलाई राष्ट्रिय निकुञ्ज भित्रनै व्यवस्थापन गर्न सकिएमा गैँडाको महत्व झनै बढ्ने छ भने यस्ले स्थानीयका बालीनाली पनि जोगिनुका साथै मानिस र वन्यजन्तु बीच द्वन्द्व पनि कम हुने थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>