खेलकुद
शाश्वतले जिते वर्ल्ड पाना च्याम्पियनशीपको उपाधि

डेनमार्क, भदौं ८–
नेपाली किशोर शाश्वत रानाले वर्ल्ड पाना च्याम्पियनशीपको उपाधि उचालेका छन् । कोपनहेगनमा शनिबार भएको वर्ल्ड पाना च्याम्पियनशीप–२०२० मा डेनमार्कमा बस्दै आएका १३ वर्षीय रानाले नेपालको प्रतिनिधित्व गर्दै उपाधि माथि कब्जा जमाएका हुन् ।
प्रतियोगितामा ७ खेल खेलेका शाश्वतले तीन खेलमा ३ पाना (नकआउट) गराएका थिए भने बाँकी ४ खेल गोल अन्तरले आफ्नो पक्षमा पारेका थिए । एकविरुद्ध एक जना खेलाडी हुने पाना खेल यूरोप र अमेरिकामा स्ट्रिट गेमको रुपमा चर्चित छ । खेलमा डेनमार्क दोस्रो र जर्मनी तेस्रो भयो । प्रतियोगितामा धेरै देशका सहभागी थिए । कोरोनाका कारण गत वर्ष भन्दा यो वर्ष अझ केही कम सहभागी भए । यसअघि वर्ल्ड पाना च्याम्पियनशीप–२०१९ मा शाश्वत तेस्रो भएका थिए । शाश्वतको जितले अहिले डेनमार्कको नेपाली समुदायमा खुशीयाली छाएको छ ।
यस प्रतियोगितामा खेलाडीले चाहेर मात्र नभई आयोजक पाना हाउसले निमन्त्रणा गर्नुपर्छ । शाश्वतको फ्रि स्टाइल उत्कृष्ट भएकाले आयोजकको नजरमा पर्दै आएका छन् । फलस्वरुप यसपटक पुनः प्रतियोगितामा सहभागिता जनाउँदै उपाधि उचाल्न सफल भए ।
शाश्वत डेनमार्कको सामाजिक ब्यक्तित्व विवेक राना र सुशीला हमालका जेठा छोरा हुन् । उनी २००७ मा कोपनहेगनमा जन्मिएका हुन् । छोराको सफलताले खुशी मिलेको बुबा विवेक र आमा सुशीलाले बताएका छन् । शाश्वत डेनिस सुपरलिगा क्लब लिङ्बी ब्लोड क्लबका फुटबल खेलाडी समेत हुन् । उनी युथ क्लबको ब्यवसायीक खेलाडी हुन् । उनी फुटबल खेलहरुमा पनि राम्रै सफलता हात पार्दै आएका छन् ।
























