गण्डकी

नवलपुरमा विद्यालय भवनको शिलान्यास

Banner

ज्ञानु पंगेनी

नवलपुर ,साउन २८-

नवलपुरको मध्यबिन्दु नगरपालिका–१२ बेलहानीको सरस्वती आधारभूत विद्यालयको चार कोठे पक्की भवनको बुधबार शिलान्यास गरिएको छ ।
प्रतिनिधि सभा सदस्य तिलक महतले उक्त भवनको शिलान्यास गर्नुभएको हो ।

२०७२ सालको भूकम्पमा क्षति पुगेको विद्यालयमा पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ नवलपरासीको शिक्षातर्फको करिब ७० लाख रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको हो । भवनको शिलान्यास गर्दै सांसद महतले माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारले हेर्ने गरी संवैधानिक व्यवस्था भएकाले सोही अनुसार स्थानीय सरकारले शैक्षिक क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । शिक्षा क्षेत्रको साना पूर्वाधारका काम स्थानीय सरकारबाट नै हुने भए पनि ठूला पूर्वाधारका लागि प्रदेश र संघीय सरकारले बजेट बिनियोजन गर्दै आएको बताउनुभयो । सांसद महतले नवलपुरको शैक्षिक क्षेत्रको पूर्वाधार विकासका लागि आफूले सक्दो पहल गरिरहको भन्दै अब शिक्षाको गुणस्तरमा समेत ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

फरक प्रसंगमा सांसद महतले भूमि आयोग केन्द्रमा बनेको र जिल्ला आयोगसमेत छिट्टै गठन भएर भूमिसम्बन्धी सबै प्रकारका समस्या समाधान गर्न वर्तमान सरकार कृयाशील भएको बताउनुभयो ।यस्तै प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठले विद्यालयका लागि गत वर्ष कम्पाण्डवाल निर्माण गर्न निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत् बजेट बिनियोजन भई आंशिकरुपमा काम गरिएको र आगामी दिनमा यसलाई सम्पन्न गर्ने बताउनुभयो । उहाँले विद्यालयमा खडा गरिएको अक्षय कोषलाई बढाउँदै लगेर विद्यालयको दिगो स्रोतका रुपमा स्थापित गर्न सके विद्यालयमा अध्ययन गर्ने गरिब, विपन्न, बोटे, माझी, मुसहर समुदायका बालबालिकाले आफ्नै घर आँगनमा सुलभ र गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण बन्ने बताउनुभयो । श्रेष्ठले अक्षय कोषमा रकम वृद्धि गर्न आफूले पनि प्रदेश सरकारसँग पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका पूर्व सदस्य चन्द्रमणि खराल, नगर शिक्षा शाखा प्रमुख, पुननिर्माण प्राधिकरणका प्रतिनिधि, वडा अध्यक्ष, बुद्धिजिवी, समाजसेवी, शिक्षाप्रेमी , अभिभावक लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक जनकराज पोख्रेलले गर्नभएको थियो भने सह प्रधानाध्यापक भीमलाल काफ्लेले स्वागत गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>