राजनीति

सभापति देउवालाई पौडेलको चेतावनी – विधान मिचेर बहादुर नसम्झनु

Banner

काठमाडौं, साउन २८-

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गरेका छन्।

पछिल्लो समय देउवाले विभाग गठन तीव्र बनाएका छन् । पार्टीको विधानअनुसार महाधिवेशन भएको महिनाभित्र गठन गर्नुपर्ने विभागहरु अर्को महाधिवेशनको मिति तय भइसकेको अवस्थामा बनाउनु गलत भएको पौडेल समूहले बताएको छ ।

सभापति देउवाले विधान मिचेर पटकपटक विभागहरु गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर उनमा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पाइएको टिप्पणी पौडेलले गरे। वरिष्ठ नेता पौडेलले विधान मिच्दा आफू बहादुर ठहर्छु भन्ने मानसिकता सभापति देउवामा देखिएको बताए।

विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको बताए।

उनले भने, ‘हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण पटक पटक गर्दै आयौं। तर नेपाली कांग्रेस भित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ की? विधान मैले जति मिच्न सके म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ। त्यसले यो पार्टी डेमोक्रयाटिक पार्टी नै हो की होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हौं।’

चार वर्षे कार्यकाल रहँदासम्म केही नगरेका सभापति देउवाले काम चलाउ भएपछि विभागहरुमा मान्छे भर्ना गरेर विधानको धज्जी उडाएको उनको आरोप छ ।

उहाँले भने, ‘यो मिच्ने बानीपर्‍यो। हाम्रो सभापति मैले जे गरेपनि हुन्छ भन्ने सोच्नुहुन्छ मलाई सम्झना छ यो देशमा कानून तोड्यो भने गृह मन्त्रीले तोड्छ म गृहमन्त्री भएको हुनाले मैले हो तोड्ने कानून भनेर बोलेर धाक लगाएर हिंडनुहुन्थ्यो एक ताका। उहाँलाई जे बोलेपनि सबैले हाँसेर लिइदिन्थे। अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ। मैले हो तोड्ने म त बहादुर नी भनेर यो बहादुरीले कांग्रेसलाई क्षति पुर्‍यायो। यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात गर्‍यो, क्षती पुर्‍यायो र घायल बनायो।’

पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्छ भन्दै आफूले ३ वर्ष अघिदेखि कार्यतालिका बनाएर काम गरौं भनेको तर सभापति देउवाले नमानेको पौडेलले बताए।

महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको र अहिलेको असाधारण अवस्थामा गर्न लागिएको महाधिवेशनमा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजेको बताए। चार वर्षमा महाधिवेशन गर्न नसक्ने सभापति अहिले कामचलाउ मात्रै भएकाले कुनैपनि निर्णय एक्लै गर्न नसक्ने पौडेलले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>