नवलपरासी

नवलपरासीका पत्रकारहरुका लागि भ्रामक सूचनाको पहिचान र रोकथामबारे तालिम

Banner

चितवन, साउन २०-

मिडिया एक्सन नेपालले नवलपुर र नवलपरासीका पत्रकारहरुका लागि दिने तीन दिने क्षमता अभिवृद्धि तालिम आजदेखि सुरु गरेको छ ।

‘भ्रामक सूचनाको पहिचान र रोकथाम’ विषयमा गरिएको अनलाइन तालिम मिडिया एक्सन नेपालको आयोजना र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा भएको हो । तालिममा नवलपुर र नवलपरासी जिल्लाका विभिन्न सञ्चार गृहमा कार्यरत १६ जना पत्रकारहरुको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन गर्दै नेपालस्थित अमेरिकी दाजदूतावासका डिपुटी चिफ अफ मिसन म्यानुअल पी मिकलरले भ्रामक सूचना तथा समाचारको रोकथाममा पत्रकारका लागि यस्ता तालिमहरु महत्वपूर्ण हुने बताउनु भयो । तालिमबाट सिकेका ज्ञानलाई पेसामा प्रयोग गर्दै अझ जिम्मेवार पत्रकारिता गर्न तालिमले सघाउ पुग्ने उहाँको विश्वास थियो । सत्य समाचार भन्दा भ्रामक सूचना छिटो फैलन भन्दै उहाँले सत्यतथ्य सूचनामा आधारित रहेर जवाफदेही र विश्वसनीयतासहितको व्यावसायिक पत्रकारिता मार्फत अगाडि बढ्न समेत पत्रकारलाई आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा सहभागी अमेरिकी राजदूतावासको सूचना विज्ञ प्रेरणा मरासिनीले पत्रकारितामा सत्य, स्वतन्त्र र स्वच्छ हुनुपर्छ भन्ने मान्यतामा आफूहरु विश्वास गर्ने बताउनुभयो । छिटो समाचार सम्प्रेषण गर्ने होडबाजीले गर्दा कतिपय गलत सूचनाहरु समेत प्रसारण हुने हुँदा गलत सूचनाको पहिचान र त्यसको परीक्षण गर्ने सीप सिकाउनमा तालिम महत्वपूर्ण हुने उहाँको विचार थियो ।

पहिलो दिनको तालिममा मिडिया एक्सन नेपालका अध्यक्ष तथा सोही तालिमका प्रशिक्षक लक्ष्मणदत्त पन्तले पत्रकारिताको नैतिक सिद्धान्त र मूल्य मान्यताबारे चर्चा गर्नु भएको थियो । उहाँले पत्रकारिताको विश्वव्यापी मूल्य मान्यता र प्रेस काउन्सिल नेपालद्वारा जारी गरिएका आचारसंहितामा आधारित रहेर कसरी विश्वसनीय पत्रकारिता गर्न सकिन्छ भन्नेबारे प्रष्ट पार्नु भएको थियो । त्यस्तै तालिमका अर्का प्रशिक्षक बंगलादेशको ढाका विश्वविद्यालयका प्राध्यापक डा. मोफिजुर रहमानले भ्रामक समाचार र सत्य समाचारको पहिचान र जनअभिरुचिबारे जानकारी गराउनु भएको थियो । उहाँले भ्रामक समाचारलाई परिभाषित गर्दै यसको रोकथाममा ध्यान दिनुपर्ने विषयहरुमा अवगत गराउनु भएको थियो ।

त्यस्तै भोलि दोस्रो दिन हुने तालिममा नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठ र मिडिया एक्सनका अध्यक्ष लक्ष्मणदत्त पन्तले भ्रामक र गलत समाचारबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ भने तेस्रो दिन पर्सी हुने तालिममा फोटो पत्रकार चन्द्रशेखर कार्की र अन्नपूर्ण एक्सप्रेसका राजनीतिक सम्पादक कमलदेव भट्टराईले प्रशिक्षण दिनु हुनेछ । मिडिया एक्सनकी उपाध्यक्ष प्रियंका झाले सहजीकरण गरेको तालिमको संयोजन मिडिया एक्सनका वाग्मती प्रदेश संयोजक मधुसूदन दवाडीले गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>