इच्छकामना

इच्छाकामनाका चेपाङ समुदायको माग : ‘सीप सिक्ने अवसर देऊ ’

Banner

मुग्लिन, साउन १३-

इच्छाकामनाका चेपाङ समुदायका महिलाले सीप सिक्ने अवसर जुटाइदिन स्थानीय तहसँग माग गरेका छन् । पैरवी मञ्चद्वारा सोमबार इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा आयोजना गरिएको कार्यक्रममा अगुवा चेपाङ महिलाले आत्मनिर्भर बन्न सीपमूलक तालिमको माग गरेका हुन् ।

इच्छाकामना–३ का ज्योति चेपाङले आफूलाई आत्मनिर्भर बन्नका लागि चालक(ड्राइभर) पेशामा लाग्ने रुचि भएको र अर्थाभावका कारण तालिम लिनबाट बञ्चित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई चालक बन्न मन छ, तर कहाँ गएर सिक्ने नजिक तालिम केन्द्र छैन, त्यसमाथि आर्थिक जुटाउन सकिँदैन”, ज्योति चेपाङजस्तै दर्जनभन्दा बढी चेपाङ महिलाले चालक भन्ने सपना रहेको बताएका थिए ।

यस्तै अन्सु चेपाङले सिलाइबुनाइमा आफ्नो रुचि भएको र सजिलै गर्न सकिने भएकाले तालिम उपलब्ध गराइदिन आग्रह गर्नुभयो । गाउँपालिकाले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिमबारे आफूलाई थाहा नहुनेसमेत उहाँले बताउनुभयो । अर्का चेपाङ महिला सुनिमाया चेपाङले ब्यूटीपार्लर तालिम लिई पसल सञ्चालन गरी आत्मनिर्भर बन्ने इच्छा रहेको सुनाउनुभयो । डिलमाया चेपाङले समयमा उपलब्ध नहुने र आवश्यकतानुसार व्यावसायिकरूपमा खेती गर्न पर्याप्त नहँुदा गाउँपालिकाबाट वितरण गरिने बीउबिजनबाट लाभदायक नभएको र तरकारी खेती गर्दै आएकाले कृषि तालिमको व्यवस्था गरिदिन आग्रह गर्नुभयो । केही चेपाङ महिलाले उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार बस्नुपरेको गुनासो गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष गोवद्र्धन अधिकारीले चेपाङ महिलाको मागबमोजिम सीपमूलक तालिम उपलब्ध गराउन पहल गर्ने र वडा र गाउँपालिकाले कृषिमा विशेष जोड दिएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य दमनकुमारी चेपाङले आफ्नो रुचि र योग्यताअनुसार विषय छनोट गरेर मात्र सीप लिँदा सदुपयोग हुने बताउनुभयो । उहाँले गाउँ कार्यपालिकामा आफूले सबै माग लैजाने जानकारीदिनुभयो । गाउँपालिका कृषि शाखा प्रमुख आनन्द घिमिरेले चेपाङ समुदायका लागि कृषिमा विशेष जोड दिइने र अब सामूहिक खेतीमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव आइतसिंह चेपाङले विभिन्न सङ्घसंस्थाबाट सहयोग लिनुभन्दा अघि आफ्नो समुदायको पहिचान, धर्म संस्कृतिमाथि असर पुग्छ कि भनेर सोच्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय चेपाङ समुदायमा आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचको विकास भएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>