खैरहनी
कंकाली वनमा लायन्स क्लबले रोप्यो चिउरीको बिरुवा

चितवन, साउन ११–
चितवनको पहिलो सामुदायिक वन कंकाली सामुदायिक वनमा चिउरीको बिरुवा रोपिएको छ । लायन्स क्लब अफ चितवन इस्ट ग्रीन, लियो क्लब अफ चितवन इस्ट र कंकाली सामुदायिक वनको संयुक्त आयोजनामा आज (आइतबार) चिउरीको बिरुवा वृक्षरोपण गरिएको हो ।
मौरीपालन व्यवसायलाई मध्यनजर गर्दै वनको खाली जग्गामा चिउरीको बिरुवा रोपिएको लायन्स क्लब अफ चितवन इस्ट ग्रीनकी अध्यक्ष लक्ष्मी घिमिरेले जानकारी दिइन् । खाली जग्गामा रहेको झांडी फाँडेर बिरुवा लगाइएको थियो । सो वनमा करिब ३ हजार वटा बिरुवा रोपिने क्लवकी अध्यक्ष घिमिरेले बताइन् ।
सो संख्याको बिरुवा एक साता भित्र रोपिने छ । रोपिएको बिरुवा इस्ट ग्रीन र कंकाली सामुदायिक वनले संरक्षण गर्ने क्लबका अध्यक्ष घिमिरेले बताइन् । लायन्स क्लबका जोन चियर पर्सन किरण बुर्लाकोटी, लायन्स क्लब अफ चितवन इस्टका अध्यक्ष भिमबहादुर पाण्डे, लियो क्लब अफ चितवन इस्टका अध्यक्ष सागर अधिकारी, वनका वरिष्ठ उपाध्यक्ष युवराज थापा मगर, वनका कोषाध्यक्ष कृष्ण बस्नेतलगायत क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
यसअघि साउन १ गते लायन्स क्लब र लियो क्लबले खैरहनी प्राथमिक स्वास्थ्य केन्द्रमा पनि वृक्षरोपण गरेको थियो ।


























