राजनीति

केपी ओलीको विरोध गर्नेको शरीरमा भारतीय रगत बगेको छः नेता मण्डल

Banner

काठमाडौं,साउन ३-

नेकपा स्थायी कमिटी सदस्य सत्यनारायण मण्‍डलले प्रधानमन्त्री एवम‍् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा अ‌ोलीलाई हटाउन केही नेता भारतसंग मिलेको बताउनुभएको छ । पार्टीभित्रको विवाद र नेताहरुको व्यवहारप्रति खरो टिप्पणी गर्दै मण्डलले भन्‍नुभयो, ‘उहाँहरुको शरीरमा नेपाली रगत नै बगेको छैन, उहाँहरुमा नेपाली पनको कुरै छैन ।’

नेता मण्डलले पार्टीलाई एकतावद्ध गरेर जानुको विकल्प नभएको बताउनुभयो । पार्टीलाई एकतावद्ध बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ट नेता माधव नेपाल र झलनाथ खनाल आफ्नो अडानबाट पछि हट्नुपर्ने उहाँको भनाई छ ।

प्रधानमन्त्रीलाई काम गर्न नदिने तीन जना नेता आफ्नो अडानबाट पछि नहटे कम्युनिष्ट पार्टीमा ठूलो दुर्घटना हुने उहाँले चेतावनी दिनुभयो । ‘यस्तै अवस्था हो भने नेपालको कम्युनिष्ट आन्दोलनले वाग्मती किनारमा समाधि लिन्छ’, उहाँले भन्नुभयो ।

अहिलेको विवाद कुनै राजनीतिक वा वैचारिक विवाद नभई व्यक्ति व्यक्तिबीच पदको लडाईं भएको मण्डलले बताउनुभयो । ‘यसमा कुनै सैद्धान्तिक र वैचारिक विषय छैन’, मण्डलले प्रष्ट पार्नुभयो ।

समस्याको समाधान दुई अध्यक्षको बीचबाटै खोज्नुपर्ने मण्डलको जोड छ । पार्टी एकिकरण पश्चात अन्तरिम विधानमा महाधिवेशन नहुँदासम्मको लागि दुई अध्यक्षलाई प्रमुख मानिएको उहाँको भनाई छ । ‘अर्को महाधिवेशनसम्म दुई अध्यक्षकै सहमतिले पार्टी चल्ने छ भन्ने कुरा प्रष्ट छ , त्यसैले बीचमा अरु कोही नपसी दुई अध्यक्षले समस्याको समाधान खोज्‍नुपर्छ’, मण्डलले भन्नुभयो ।

गत पुसमा बसेको केन्द्रीय कमिटी बैठकले आउने चैतमा महाधिवेशन घोषणा गरेको बताउँदै सबै समस्याको निकास त्यहीँ खोज्नु पर्ने मण्डलले बताउनुभयो । ‘अब महाधिवेशनको तयारी गरेर सबै कुराको छिनोफानो एकता महाधिवेशनबाट गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

स्थायी कमिटी बैठकको सुरुमा सौहार्दपूर्ण रुपमा छलफल भएको उहाँको भनाई छ । तर सुनियोजित रुपमा नियतवश बैठकलाई केही नेताले विषयान्तरण गरेको मण्डलको आरोप छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>