देश/प्रदेश

नेपालमा चिनीको मौज्दात सकिन लागेको व्यवसायीको दाबी

Banner

विराटनगर, असार २९-

नेपालका विभिन्न चिनी मिलहरुले उत्पादन गरेको चिनीको मौज्दात सकिनै लागेको छ।

नेपालमा चिनीकोे उत्पादनको सिजन मंसिरदेखि चैतसम्म हो।सिजन सुरु हुनुभन्दा चार महिनाअगाडि नै उद्योगहरूमा चिनीको मौज्दात सकिन लागेको हो। नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार अब एक–दुई उद्योगमा थोरै मात्र चिनी बाँकी छ। साउनको पहिलो हप्तासम्ममा कुनै पनि उद्योगमा विक्रीका लागि चिनीको मौज्दात हुनेछैन। अध्यक्ष अग्रवालले नेपालमा ११ वटा सुगर मिल सञ्चालनमा रहेको र सबैको क्षमता जोड्दा एक सिजनमा चार लाख ५० हजार टन चिनी उत्पादन हुनसक्ने बताए।

‘‘ तर गत वर्षको सिजनमा १ लाख ९० हजार टनमात्र चिनीको उत्पादन गरिएको छ’, शशिकान्तले भने, ‘दुई वर्षअगाडि पाकिस्तानको सस्तो चिनी नेपालमा भित्रिएका कारण नेपालका उद्योगको उत्पादन समयमा विक्री भएन। यसका कारण किसानलाई भुक्तानी दिन ढिलो भयो। ढिलो भुक्तानी पाएपछि एक तिहाईभन्दा बढी किसानले उखुखेतीलाई निरन्तरता दिएनन्। उखु मासेर धान–गहुँ नै लगाए। त्यसैले गत वर्ष चिनीको उत्पादन घट्यो। यही स्थिति यस वर्ष पनि छ।’

उनले नेपालमा चिनीको वार्षिक खपत २ लाख ५० हजार मेट्रिक टन भएको उल्लेख गरे। जसअनुसार यस वर्ष ५० हजार टन चिनीको अभाव छ । त्यसैगरी
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले सरकारी सुविधामा सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी आयात गर्न अनुमति दिन लागेको जानकारी दिए। चिनीको आयात भन्सार महसुल ४० प्रतिशत छ । तर सरकारी सुविधामा २० प्रतिशतमै आयात गरिन्छ। राज्यमन्त्री दुगडले दुबै कम्पनीले फास्ट ट्रयाकबाट चिनीको आयात गर्ने र प्रक्रिया सुरु भएको एक महिनाभित्र देशमा चिनी आइसक्ने दाबी गरे। उनले चाडबाड सुरु हुनुभन्दा अगाडि नै दुबै कम्पनीले नेपालभरि चिनी पुग्ने उनले दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>