Breaking News
प्रचण्ड, ओली र रविको छलफलमा मिसिए देउवासहित कांग्रेस नेताहरू

काठमाडौं,जेठ ५-
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। शनिबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतको छलफल चलिरहँदा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरू बालुवाटार पुगेका हुन्।
स्रोतका अनुसार, देउवासँग महामन्त्री गगन कुमार थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन्। संसद्मा जारी गतिरोध अन्त्य गर्नेगरी प्रधानमन्त्री प्रचण्डले शनिबार बिहानैबाट छलफल थालेका हुन्।
आजै बिहान पनि कांग्रेस नेताहरू प्रधानमन्त्री भेट्न बालुुवाटार पुुगेका थिए। भेटमा प्रधानमन्त्री प्रचण्ड संसदीय छानबिन समिति बनाउन सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका थिए। सभामुख देवराज घिमिरेले भोलि (आइतबार) बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन्।
सो बैठकअघि एक खालको सहमति जुट्ने प्रधानमन्त्री प्रचण्डले शनिबार एक पुस्तक विमोचन कार्यक्रममा बताएका थिए।


























