तनहुँ

तनहुँकी रितु ढाका बुनेरै आत्मनिर्भर बन्दै

Banner

दमौली (तनहुँ), जेठ ५-

आँबुखैरेनी गाउँपालिका–३ की रितु थापामगर घरधन्दा सकेर ढाका बुन्नुहुन्छ । चार वर्ष अगाडि ढाका बुनाइसम्बन्धी तीनमहिने तालिम लिएर उहाँ व्यवसायमा लाग्नुभएको हो ।

“तालिम लिएपछि घरमै पाँच महिना कपडा बुनेँ । फेरि दुई महिना दमौली आएर थप तालिम लिएँ”, उहाँले भन्नुभयो, “त्यसपछि निरन्तर यही पेसामा छु ।” फुर्सदको समय सदुपयोग गर्दा कामसँगै दाम कमाउन सकिने उहाँको भनाइ छ ।

व्यवसाय थालेपछि अरुसँग पैसा माग्नुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पैसा चाहिँदा अरुसँग माग्नुभन्दा आफैले कमाउन थालेपछि धेरै सहज भयो । घरायसी कामसँगै ढाका बुन्न सकिने भएकाले अरुलाई पनि उद्यम गर्न आग्रह गर्छु ।”

ढाका उत्पादनका लागि आवश्यक कच्चापदार्थ काठमाडौँबाट ल्याउने गरेको उहाँले बताउनुभयो । धागो ल्याएर मागअनुसार ढाका बुन्ने गर्नुभएका उहाँले अहिले सारीको माग धेरै भएको जानकारी दिनुभयो । उहाँका अनुसार ढाकाबाट पछ्यौरा, चोली, कोट, मफलर र कुर्तासुरुवाल बनाउन सकिन्छ ।

थापाका अनुसार एउटा सारीका लागि ढाका तयार गर्न तान, धागोलगायत सबै गरी रु तीन हजारसम्म खर्च हुने गरेको छ । रु आठ हजारदेखि रु १२ हजारसम्ममा सारी बिक्री हुन्छ । एउटा सारी बनाउन कम्तीमा १२ दिन लाग्नेगर्छ ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले व्यवसायी बन्न चाहनेलाई गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । हरेक व्यक्ति उद्यमी बन्न सकेमात्रै समृद्धि हासिल हुने भएकाले त्यस्ता व्यक्तिले उद्यम गर्न चाहे गाउँपालिकाको सहयोग गर्ने उहाँको भनाइ छ ।

यता दमौलीमा ढाका उद्योग सञ्चालन गर्दै आउनुभएका विष्णु चौधरीले बाबुबाजेको पेसा अपनाएर उद्यमी बन्नुभएको छ । व्यास नगरपालिका–२ मा विसं २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उहाँ सफल उद्यमी बन्नुभएको हो । ढाकाबाट पहिले टोपी र चोलीमात्र बन्ने गरेपनि अहिले अन्य कपडा बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको उहाँको भनाइ छ । ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरासुरुवाल, पाल्पाली ढाका टोपी, तेह्रथुमे साडीको राम्रो व्यापार हुने गरेको चौधरीले बताउनुभयो ।

उहाँको उद्योगबाट उत्पादित ढाकाका सामग्री यहाँमात्र सीमित छैनन् । जिल्लाकै ग्रामीण भेग, लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौँलगायतका ठाउँबाट माग हुने गरेको छ ।

यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले पनि ढाकाको कपडा किन्ने गरेका छन् । ढाका कोसेली लैजाने संस्कारको विकास गराउन सके व्यापार अझै बढ्ने उहाँले बताउनुभयो ।

जिल्लामा ढाका बुनाइतर्फ आकर्षण बढेसँगै पर्यटन तथा उद्योग कार्यालय तनहुँले दुईमहिने निःशुल्क ‘एड्भान्स’ ढाका बुनाइ तथा डिजाइन तालिम सुरु गरेको छ । युवायुवतीलाई उद्यमसँग जोड्ने उद्देश्यले वार्षिक कार्यक्रमबमोजिम तालिम सञ्चालन गरिएको निमित्त प्रमुख सुवास पौडेलले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>