चितवन विशेष
नेकपालाई फुटबाट जोगाउन चितवनमा दवाब

चितवन, असार २२–
दुई तिहाई सरकारको नेतृत्व गरिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले फुटको संघारमा पुगेको छ ।
प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष केपी शर्मा ओली एकातिर र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल अर्कातिर हुँदा अहिले नेकपा फुटको संघारमा पुगेको छ । तर जिल्लास्तरमा भने पार्टीलाई फुटबाट जोगाउन आवाज उठेको छ ।
आज (सोमबार) चितवनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षधरका युवा नेता तथा विद्यार्थीहरुले पार्टीलाई फुटबाट जोगाउन दवाब दिएका छन् ।

नेकपा पार्टी कार्यालय भरतपुरमा पुगेको युवाहरुको टोलीले जिल्ला अध्यक्ष यमबहादुर परियारलाई ज्ञापन पत्र बुझाउँदै पार्टीलाई फुटबाट जोगाउन माग गरेका छन् । एमसीसी खारेजसंगै पार्टीलाई विधि र नीति अनुरुप चलाउन आग्रह गर्दै पार्टीलाई एकढिक्का बनाउन माग गरिएको युवा संगठनका केन्द्रीय सदस्य सन्तोष पनेरुले जानकारी दिए ।
उनले संकटको बेलामा पार्टी फुटाउन नहुने भन्दै शीर्ष नेतृत्वलाई दवाब दिनका लागि जिल्लास्तरबाट दवाबमुलक कार्यक्रम गरिएको बताए ।

























