गण्डकी

देवघाटमा वृद्धग्राम बन्ने

Banner

चितवन, असार २२

देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित देवघाट समाज कल्याण केन्द्रको क्षमता बढाइने भएको छ । हाल केन्द्रमा ३५ जना वृद्धवृद्धा रहेका छन् । अब सो सङ्ख्या तत्काल ५० पुर्‍याइने छ ।

समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल केन्द्रमा २० वृद्धा र १५ वृद्ध रहेका छन् । उनले अब मापदण्ड पूरा गरी आएका वृद्धवृद्धालाई राख्न सकिने जानकारी दिए । सन्तान र सन्तती नभएका, ६५ वर्ष नाघेका, मानसिक सन्तुलन ठिक भएका, सरुवा रोग नलागेका र सम्बन्धित स्थानीय तह एवम् चिकित्सकले प्रमाणित गरेका वृद्धवृद्धालाई केन्द्रमा राखिन्छ । उनले हाल केन्द्रमा जाजरकोटदेखि सुनसरीसम्मका वृद्धवृद्धा रहेको, पछिल्ला वर्षमा दाताको राम्रो सहयोग पाएको तथा दूध र सागसब्जी बाहेक खाद्यान्न किन्नु नपरेको बताए । वार्षिक रुपमा ३५ लाख हाराहारी खर्च हुने गरेकोमा झण्डै आधा दाताले धानेको समितिले जनाएको छ।

विभिन्न व्यक्तिले विवाह उत्सव, जन्म, श्राद्ध, सङ्घसंस्थाको स्थापना दिन वृद्धवृद्धालाई खाना खुवाउने, लत्ताकपडा दिने, स्वास्थ्य परीक्षणमा सहयोग गर्ने गरेका छन् । केन्द्रमा ६ जना कर्मचारी कार्यरत रहेका छन् । केन्द्रलाई विस्तार गरी वृद्धग्राम बनाउन लागिएको छ । करिब १०० जना वृद्धवृद्धा बसेर विभिन्न गतिविधिमा समावेश हुन सक्ने गरी ग्राम बनाउन लागिएको छ । उनले भने, ‘वृद्धवृद्धाहरुले यहाँ आनन्दको अनुभूति गर्न सक्ने गरी ग्राम बनाउँछौँ । यहाँ आउने वृद्धहरुलाई आफ्नो जीवन मिल्किएको नभएर सम्मानित हो भन्ने अनुभूति दिलाउने गरी ग्राम बनाउन लागिएको केन्द्रले जनाएको छ ।

आगामी वर्षको बजेटमा ८० लाख रुपैयाँमा हाराहारी राखेर काम अघि बढाउने उनको भनाइ छ । सरकार र निजी विभिन्न सङ्घसंस्थासँग बजेट जुटाएर उत्कृष्ठ ग्राम बनाउन लागिएको केन्द्रका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए । देवघाट धार्मिक दृष्टिले निकै महत्वपूर्ण स्थल भएकाले धेरैले आफ्नो जीवनको अन्तिम क्षण यहाँ बिताउन चाहने गरेको उनको भनाइ छ । देवघाटमा रहेका निजी र सामाजिक क्षेत्रबाट सञ्चालित वृद्धाश्रम, आश्रम, मठमन्दिर, कुटी लगायतमा वृद्धवृद्धा बस्ने गर्दछन् ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>