राजनीति
एमसिसी पारित नगरी संसद अधिवेशन अन्त्य गरिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं,असार १८-
प्रमुख प्रतिपक्षी नेपाली कांग्रसले एमसिसीबारे निश्चित टुंगोमा नपुगी संघीय संसदको अधिवेशन अन्त्य गरिएको भन्दै आपत्ती जनाएको छ। अधिवेशन अन्त्य गर्ने प्रकृयालाई सरकारले अवलम्बन नगरेको कांग्रेसको आरोप छ। सरकारले प्रमुख प्रतिपक्षी दलसँग यसबारे परामर्श नै नगरेको कांग्रेसको दावी छ। काँग्रेसले तत्काल एमसिसी पारित हुनुपर्ने अडान राख्दै आएको छ ।
मन्त्रि परिषद्को बैठकले संसद अधिवेदन अन्त्य गर्न गरेको सिफारिस बिहीबार केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्विकृत भएको थियो। संसदमा विचाराधिन अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीको विरोध भइरहेका बेला सरकारले यसबारे निर्णय गर्न सकेको छैन। एमसिसी स्विकार गर्ने विषयमा सडकमा दिनहुँ प्रदर्शनहरु भइरहेका छन्।
‘अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव देखि एमसिसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ । यसबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग न त कुनै परामर्श गरिएको छ न त पूर्व सूचना दिइएको थियो’, नेपाली कांग्रेसद्धारा बिहीबार साँझ जारी विज्ञप्तीमा भनिएको छ।






















