चितवन विशेष

चितवनको माडीमा मेसिनबाट रोपाइँ गरेर धान दिवस मनाइँदै

Banner

चितवन, असार १४–

चितवनको माडीमा यसवर्ष राष्ट्रिय धान दिवस मनाईदै छ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ माडीमा १७ औं राष्ट्रिय धान दिवस मनाउन लागिएको हो ।

कृषि ज्ञान केन्द्र चितवन र प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवनले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी कोरोनाका कहरकाबीच सामाजिक तथा भौतिक दुरी कायम गरी राष्ट्रिय धान दिवस मनाउन लागिएको जानकारी दिएको छ ।

माडी नगरपालिका–८ कान्तिपुरस्थित सामूहिक चक्लाबन्दी खेती कार्यक्रम लागू भएको स्थानमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए । उनले कृषि यान्त्रिकरणको प्रयोग गरी धान रोपाइँ गरिने जानकारी दिए ।

माडीमा झण्डै २५ विघा क्षेत्रफलमा यान्त्रीकरण मार्फत रोपाइँको तयारी भइरहेको ढकालले बताए । उनले भने–‘कोरोनाका कारण आन्तरिक श्रममा भर पर्नुपर्ने देखिएको छ, त्यसको विकल्पको रुपमा सामूहिक रुपमा रोपाइँ वा यान्त्रीकरण मार्फत धान रोपाइँको प्रवद्र्धन गर्नु पर्ने देखिन्छ ।’ ज्ञान केन्द्रका प्रमुख ढकालले विस्तारै चितवनमा यान्त्रीकरणको प्रयोग बढाउँदै लैजाने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवनका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले धान उत्पादन वृद्धिका लागि यान्त्रीकरणको प्रयोग जरुरी रहेको बताए । उनले यसवर्ष यान्त्रीकरणको प्रयोगलाई केही विस्तार गरी लैजाने तयारी भइरहेको बताए । उनले भने–‘कृषि यान्त्रीकरणको प्रयोग बढाउन प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना लागि परेको छ, विस्तारै किसान यसतर्फ केन्द्रीत हुँदैछन् ।’

उनले कुनै यन्त्र महङगो पर्ने भएकाले स्थानीय तहले नै खरिद गरी किसानलाई भाडामा दिने गरी प्रक्रिया अगाडि बढाउन सकिने बताए । वरिष्ठ कृषि अधिकृत तिमल्सेनाले किसानहरुलाई समूह वा व्यक्तिगतमा रुपमा यान्त्रीकरणका लागि ५० प्रतिशतसम्मको अनुदान दिईरहेको जानकारी दिए ।

चितवनमा यसवर्ष विभिन्न ठाउँबाट यान्त्रीकरणबाट रोपाइँको तयारी भइरहेको छ । एउटा मेसिनले एक दिनमा चार विघा क्षेत्रफलसम्म रोपाइँ गर्न सक्छ ।

कृषि अधिकृत माधव प्रसाद पौडेलले यसवर्ष बिउँको व्यवस्थापन गर्न नसकिएकोले धेरै क्षेत्रफलमा मेसिन मार्फत रोपाइँ गर्न नसकिने बताए । उनले भने–‘बीउँ राख्ने बेलामै कोरोनाको महामारी सुरु भयो, यसले धेरै ठाउँमा प्राविधिक बिना बीउँ राख्न समस्या भयो ।’ मेसिनबाट रोपाइँ गर्नका लागि किसानहरुले बीउँ राख्नका लागि सुरुमा प्राविधिकको सल्लाह लिनु पर्ने हुन्छ ।

चितवनमा गतवर्ष २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा वर्षै धान र चैते धान गरी रोपाइँ भएको थियो । यसवर्ष समयमै मनसुन सरु भएकाले धानखेतीको क्षेत्रफल बढ्न सक्ने ज्ञान केन्द्रले अनुमान गरेको छ । चितवनमा विशेषगरी सावित्री, सावा मसुली सब १, स्वर्ण सब १, रामधान, हर्दिनाथ १, हर्दिनाथ ३, चैते ५, बहुगुणी १ र २ लगायत जातका धान लगाउने गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>