राजनीति
भारतले केपी ओलीलाई हटाएर राजतन्त्र ल्याउन खोजिरहेको छः चित्रबहादुर केसी

काठमाडौं,असार १३ –
चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले भारतले केपी ओलीलाई हटाएर देशमा राजतन्त्र ल्याउन खोजिरहेको दाबी गरेको छ । पार्टीको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै शनिबार जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले ‘भारतले केपी ओलीलाई हटाउन सक्दो प्रयास गरिरहेको बताए ।
प्रेस वक्तव्यमा उनले भनेका छन्, हामीले शुरुदेखि नै बताउँदै आएका छौँ कि नेकपाको सरकार कम्युनिस्ट सरकार होइन । यो गणतन्त्र पनि बर्जुवा व्यवस्था हो । यिनबाट देश र जनताका सम्पूर्ण समस्याहरुको समाधान हुँदैन ।’तैपनि तुलनात्मक दृष्टिले अहिलेको अवस्थामा नेकपा गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा उभिनु सकारात्मक भएको केसीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
संसदमा एक सीटको प्रतिनिधित्व गर्ने पार्टीका रुपमा रहेको जनमोर्चाले ओली सरकारको मूल्यांकन गर्दै भनेको छ, ‘नेपाली भूमि फिर्ता गर्ने, त्यसका लागि नयाँ नक्सा जारी गर्ने, नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिला ७ वर्षसम्म लगातार नेपालमा बसेको हुनुपर्ने व्यवस्था गर्ने कार्य सकारात्मक र महत्वपूर्ण छन् ।’ राष्ट्रिय जनमोर्चाले एमसीसी सम्झौता नेपालको हितमा नभएको मात्र होइन, गम्भीर राष्ट्रघाती भएको बताएको छ ।






















