चितवन विशेष
न्याय खोज्दै दलित अगुवाहरुको चितवन जिल्ला अदालत अगाडि धर्ना

चितवन, असार ९–
पश्चिम रूकुमको चौरजहारीमा भएको विभत्सपूर्ण घटना, अंगिरा पासीको बलात्कार पछि हत्या र शम्भु सदाको प्रहरी हिरासतमा भएको हत्या प्रकरणको विरोधमा आज (मंगलबार) संयुक्त दलित संघर्ष समिति चितवनले खबरदारी पूर्ण धर्ना कार्यक्रम गरेको छ ।
दोषीलाई हदैँसम्मको सजायको माग राख्दै चितवन जिल्ला अदालत अगाडी संघर्ष समितिले धर्ना दिएको हो । सहभागिहरुले न्याय मर्न दिनुहुँदैन भन्दै मौन रूपमा प्लेकार्ड प्रर्दशन गर्दै एक घण्टा धर्ना दिएका थिए । धर्नामा दलित समुदायका राजनैतिककर्मी, अधिकारकर्मी एवम् पत्रकारहरू एक घण्टा धर्नामा बसेका हुन् ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य एवम् संयुक्त दलित संघर्ष समिति चितवनका सचिवालय सदस्य चक्र रुचालले दलित समुदाय माथि भएको अन्यायविरूद्ध राज्य मौन बसेको कारण यो आन्दोलन उत्कर्षमा आएको बताएका छन् ।
यदि घटनाको दोषीलाई उन्मुक्ति दिलाउन सरोकारवाला नै अग्रसर रहन्छन् भने दलित समुदायले शसक्त संघर्ष गर्ने उनले चेतावनी दिएका छन् । उनले यो दलित समुदायको मुक्तिको आन्दोलन भएकोले कोही पनि धुव्रीकृत हुन नहुने बताएका छन् । उनले रूकुम पश्चिम घटना सुनियोजित ढंगबाट घटेको घटना भएको समेत उनको दावी छ ।
त्यस्तै रूकुम पश्चिम घटनाको स्थलगत अध्ययन गरेर संयुक्त दलित संघर्ष समिति चितवनको अध्ययन टोली अहिले चितवन फर्किएको छ । समितिले केही दिनमा पत्रकार सम्मेलन गर्दै अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने दलित अधिकारकर्मी एवम् अध्ययन टोलीका सदस्य खेमबहादुर दर्जीले जानकारी दिएका छन् ।
संयुक्त दलित संघर्ष समिति चितवनले दलित समुदाय माथिको विभेदको विरूद्ध निरन्तर चरणबद्ध खबरदारी कार्यक्रम गरिरहेको छ भने दलित समुदायकै मुद्दा रहेकोले राष्ट्रिय दलित पत्रकार संघ चितवनले संघर्ष समितिमै रहेर विरोध गरिरहेको छ ।























