Breaking News

कोरोना महामारीबीच हराएको साङ्गीतिक उत्सव

Banner

शिव गौतम

चितवन, असार ७–

सङ्गीत र मानव सभ्यताबीच एकदमै नजिकको सम्बन्ध रहेको पाइन्छ । प्राकृतिक ध्वनि होस् या त मानव निर्मित गीतसङ्गीत नै, यी कुरा सबैलाई कर्णप्रिय नै लाग्ने गर्छन् । मानिस र संगीतबीचकै आत्मीयतालाई प्रस्तुत गर्न तथा लोक गीतसंगीतको महत्त्वलाई पनि बुझाउन सन् १९८२ को जुन २१ तारिखका दिन पहिलो पटक विश्व सङ्गीत दिवस मनाइएको थियो ।

फ्रान्सको पेरिसबाट “फेट डे ला म्युजिक” नामले सुरु भएको यो महोत्सवलाई हाल विश्वका हरेक कुनामा विश्व सङ्गीत दिवसको रूपमा मनाउने गरिएको छ । संगीत दिवसका यस अघिका ३७ वटा संस्करणमा विश्व सङ्गीतमय हुने गरेको थियो । गीत गाउन र गीतकै तालमा नाच्न सबै लालायित नै हुने गरेका थिए । तर वर्ष २०२० को विश्व संगीत दिवसलाई कोरोना भाइरसको महामारीले केही खल्लो बनाइदिएको छ । भाइरसको संक्रमणलाई फैलन नदिन संसारैभर मानिसहरूलाई शारीरिक दूरी कायम गर्न भनिएको छ । भाइरस उत्पत्ति भएको छ महिना बितिसक्दासम्म दैनिकजसो हुने गरेका साङ्गीतिक कार्यक्रम, मेला तथा कन्सर्टमा पूर्णविराम नै लागेको छ । मानिसहरू एकअर्कासँग भेट्न नपाउँदा आकुलव्याकुल बनेका छन् भने उता सर्जकले गीतसङ्गीतको सृजना गर्न नपाउँदा साङ्गीतिक उद्योग नै धरासायी अवस्थामा पुगेको छ ।

धेरैले कोरोना भाइरसको महामारीले विश्व इतिहासलाई कोरोना पूर्व र कोरोना पश्चात् गरी दुई भागमा विभाजन गर्ने आंकलन गरेका छन् । यसको असर साङ्गीतिक क्षेत्रमा पनि पर्ने निश्चित नै छ । “नेपालको मात्रै नभएर विश्वकै गीतसङ्गीतको ठूलो हिस्सा स्टेज कार्यक्रमले ओगट्ने गरेका थिए । स्टेज कार्यक्रम नै नभएपछि गायक गायकको आम्दानीमा असर त पर्ने नै भयो”, आधुनिक गायक हेमन्त शर्मा भन्छन्, “गीतका एल्बम बेचेर लगानी उठाउन सक्ने अवस्था पहिले पनि थिएन र अहिले त झन् छँदै छैन ।” कोरोना महामारी नियन्त्रण हुन जति समय लाग्छ, त्योभन्दा थप एक वर्ष नेपाली साङ्गीतिक क्षेत्रलाई माथि उठ्न लाग्ने शर्मा बताउँछन् । “गायकले गीत तयार पार्दासम्म गीतकार, संगीतकार, स्टुडियो, वाद्यवादक, लगायतलाई एकदुई पैसा दिन्थ्यो । यो क्रमले धेरैलाई पुगिरहेकै हुन्थ्यो । तर अहिले सबै कुरा ठप्प भएपछि त्यो क्रम नै रोकिएको छ । त्यसैले भाइरसको खोप नबन्दासम्म साङ्गीतिक क्षेत्रको अवस्था नाजुक छ”, शर्माले सबैको व्यथा सुनाए ।

लकडाउनको सुरुवाती चरणमा धेरै कलाकारको जिन्दगी सामान्य रहे पनि दोश्रो महिनासम्म पुग्दा अधिकांशमा निराशा छाएको शर्माको भनाइ छ । “लकडाउन अगाडी कलाकार साथीहरूले जस्तो जीवनशैली अपनाउनुहुन्थ्यो, आम्दानीमा विराम लागेपछि त्यही जीवनशैलीलाई निरन्तरता दिन सक्ने अवस्था धेरैसँग छैन”, उनले रोकिँदै भने, “बैंकहरूसँग लिएको ऋणको किस्ता बढेको बढ्यै छ । यता आउने एक वर्षसम्म खासै आम्दानी नहुने अनुमान पनि छ ।” कनिष्ठ कलाकारहरूलाई केही विकल्प आउला भनेर सम्झाउने गरेको भए पनि निराशाको मात्रा झन् थपिँदै गएको शर्माले बताए । “अरु देशमा त कलाकारका लागि भनेर राहत दिने चलन पनि छ । हाम्रोमा त्यस्तो चलन छैन । अवस्था कुहिरोभित्रको कागको जस्तै भएको छ”, नमीठो मान्दै उनले भने । महामारीको अवस्थामा पनि मानिसहरूको गीतसङ्गीतप्रतिको रुची भने नघट्ने उनको भनाइ छ । “मान्छे कोरोना कोरोना सुन्दा वाक्क भएका छन् । यस्तो बेला मनलाई भुलाउने भनेको आफूलाई मन पर्ने गीत सुनेर नै हो”, उनले थपे ।

सङ्गीतलाई योगको अंग र रोग विरुद्धको औषधि मान्ने लोक तथा दोहोरी गायक शिरीष देवकोटा कोरोना महामारीको असर दोहोरी गायनको क्षेत्रमा पनि परेको बताउँछन् । “गाउँघरतिर रोदीघरमा बसेर गाइने गीतहरू प्रभावित बनेका छन् । भजनकीर्तन आदि पनि रोकिएका छन्”, उनी अगाडी भन्छन्, “शारीरिक दूरी कायम गर्ने भन्ने बित्तिकै गीतको रेकर्डिङदेखि म्युजिक भिडियोसम्मका काम रोकिएका छन् । संसारलाई नै असर गरेको महामारीले हाम्रो देशको लोकसङ्गीतलाई पनि असर त गर्ने नै भयो ।” लकडाउनकै कारण यस पटक उनले तीजको गीत पनि सार्वजनिक गर्न नपाएको बताए । “आमाले लेख्नुभएको शब्दमा एउटा तीज गीत बनाउने सोचेको थिएँ । कोरोनाले त्यो पनि रोकियो । त्यही गीतलाई अब अर्काे सालको तीजमा मात्रै सार्वजनिक गर्ने सोचेको छु”, उनले बताए । सामान्य अवस्थामा असारको अन्त्यदेखि बजारमा तीजका गीत रिलिज हुने क्रम सुरु हुने गरेको थियो । लकडाउनका कारण गीत उत्पादन गर्न नपाएपछि अधिकांश दोहोरी गायकगायिकाले तीजका स्टेज कार्यक्रमबाट हुने कमाइको आश मार्नुपर्ने स्थिति आएको छ ।

त्यस्तै, डिजिटल वा भर्चुअल माध्यमबाट आफ्नो सृजना सबै नेपालीसम्म पुर्‍याउनु पनि हाललाई चुनौति रहेको गायक देवकोटाले सुनाए । “नेटफ्क्सि जस्तै साइटमा पैसा तिरेर फिल्म हेर्ने वा गीत सुन्ने हैसियत हामी अधिकांश नेपालीमा छैन । अनि फेरि डिजिटल माध्यम जस्तै युट्युब वा कुनै सेवाग्राही कम्पनीबाट कलाकारलाई प्राप्त हुने रकम जीविकोपार्जनका लागि पनि पर्याप्त छैन”, उनले भने । कलाकारहरूलाई देशको गहना भन्ने गरिएपनि सरकार कलाकारको रक्षामा लागेको आभाष नभएको उनले बताए । “यस्तै अवस्थामा कलाकारलाई सरकारको सहयोगको खाँचो पर्ने हो”, देवकोटाले भने । “कलाकारले आय कर तिर्दैनन् भनेर राहतको व्यवस्था नगरिएको हो भने कर लिने वातावरण बनाउन नसक्नुमा दोष सरकारकै हुन जान्छ”, उनले थपे ।

महामारीका बीच यस पटकको विश्व सङ्गीग दिवसले आशाका नयाँ किरण लिएर आउने विश्वास छ । “यो पटकको सङ्गीत दिवसमा व्यवसायिक प्रयोजनका लागि गीत गाउने कुरै भएन । दैनिक अभ्यास तथा साधनाका लागि गाउन भने टुटाएको छैन”, गायकद्वय शर्मा र देवकोटाले एउटै आशय व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>