कालिका

चितवनका सिपि शिक्षण पेसा छाडेर कागति खेतीमा रम्दै

Banner

नारायण अधिकारी

चितवन, असार ३–

पूर्वीचितवनका एक युवाले शिक्षण पेशा छाडेर कागति खेतीमा राम्रो मुनाफा लिन सफल भएका छन् । कालिका नगरपालिका वडा नम्बर ६ जमुनापुरका सिपि अधिकारीले निजी बोडिङ् र क्याम्पस पढाउन छाडेर पेशागत रुपमा कागति खेती गर्न सुरु गरेका हुन् ।

अधिकारीले आफ्नो एक बिगाह र भाडाको एक बिगाह १० कठ्ठामा कागति खेती गरेका हुन् । पाँच वर्ष अघि आफ्नो जमिनबाट खेती सुरु गरेका उनले दोस्रो वर्ष भाडामा जग्गा लिएर खेती बिस्तार गरेका थिए ।

अधिकारीका अनुसार पहिलो वर्ष ३ सय ५० विरुवा र दोस्रो वर्ष ६ सय ५० विरुवा रोपेका थिए । तेस्रो वर्षबाट उत्पादन सुरु भएको हो । अधिकारीले कागति लगाएको तेस्रो वर्ष रु ३ लाख, चौथो वर्ष रु ८ लाख आम्दानी गरिसकेका छन् । यस वर्ष रु १० लाखको कागति बिक्रि गर्ने उनको लक्ष्य रहेको छ ।

असार १५ देखि चैतसम्म उनको कागति बिक्रि हुने गर्दछ । यसवर्ष ५ विगाह थप गर्ने लक्ष्य रहेको भए पनि लकडाउनका कारण सम्भव नभएको उनले बताए । आउँदो वर्ष उनी खेती बिस्तार गर्दै छन् । बर्षमा १ लाख ५० हजार देखि २ लाखसम्म खर्च हुने भए पनि आम्दानी राम्रो हुने गरेको उनको भनाई छ । कागति लगाउँदा प्रतिबिरुवा रु १ सय ८५ मा खरिद गरेपछि पछिल्ला वर्षहरुमा गोडमेल र औषधि उपचारमा मात्र खर्च हुन्छ ।

भाडाको जग्गाको वार्षिक प्रतिकठ्ठा रु ३ हजार तिर्नुपर्ने हुन्छ । विज्ञानमा स्नातक गरेका अधिकारीका लागि पढाउन जहाँ कहिबाट बोलाउने गरिन्थ्यो । त्यसो त ट्यूसन कोचिङ्मा पनि राम्रो आम्दानी हुन्थ्यो । तर ती सबै छाडेर सुरुमा बाख्रा पाल्दा त्यति सफल हुन नसके पछि उनले कागति खेतीमा हात हालेको बताए । १७ वर्ष शिक्षण पेशाको अनुभव छाडेका उनी यतिबेला कागतिको अध्ययन अनुसन्धानमा पनि व्यस्त छन् ।

कागतिको बिरुवा उत्पादन गर्ने तयारीमा उनी जुटेका छन् । भारतीय कागति नेपाली बजार भरी हुने हामी बाँझो खेत र खालिहात बसीरहेको भन्दै उनले मिहिनेत गर्‍यो भने यहि मनग्य आम्दानी हुने बताए । चितवनको बजारमा मात्र एक सातामा २० टन भारतीय कागति बिक्रि हुने उनको भनाई छ । कालिका नगरपाकिलामा १० जनाले व्यवसायीक कागति खेती गरेका छन् । जिल्लामा यो संख्या ५० हाराहारी रहेको छ । यहाँ १ सय बिगाहमा कागति खेती भएको अनुमान छ ।

प्रतिकिलो रु १ सय देखि २ सय सम्ममा कागति बिक्रि हुने गर्दछ । भारतीय कागतिको प्रभाव, यहाँका किसानले अनुदान नपाउनु, प्राबिधिक सहयोग नहुनु जस्ता कारण काममा कठिनाई हुने गरेको अधिकारीले बताए । उनले भने–“स्वदेशमानै बसेर आँफैले मिहिनेत गर्न सकेमा यही सफलता हाँसिल गर्न सकीन्छ ।” आफूले पाँच वर्षमा सिकेको ज्ञान बाँड्न तयार रहेको भन्दै उनले कागति खेती गर्नेहरुलाई सहयोग गर्न इच्छुक रहेको बताए ।

सोही क्षेत्रका पत्रकार शिशिर सिंम्खडाले अधिकारी नमुना कृषक भएको बताए । नपढेकाहरुले मात्र होईन पढेकाहरुले पनि कृषि कर्ममा लाग्नु पर्छ भन्ने उदाहारण उनले दिएको बताए । राज्यले सहयोग गर्न सकेमा नेपालमानै कागतिमा आत्मनिर्भर वन्न सक्ने उनको मिहिनेतले देखाएको सिंम्खडाको भनाई छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>