Breaking News

लकडाउनको फाइदा : वर्षौदेखि बाँझो जमिनमा तरकारी र मकै

Banner

ज्ञानु पंगेनी

नवलपुर, असार १

लकडाउनका कारण अहिले देशमा नागरिकहरु घरमै बसिरेहका छन् । लकडाउनले गाउँमा बस्ने नागरिकलाई समय बिताउन खासै प्रभाव नपारे पनि शहर बजारका मानिसलाई समय बिताउन निकै गाह्रो भइरहेको छ । कुनै पेसा वा व्यवसायमा नै अधिकांश समय बिताइरहेका बजारका नागरिकहरु लकडाउनपछि समय बिताउन नसकेर दिक्क मान्दै छन् । समय कटाउनै गाह्रो भएपछि र बाहिरबाट आएका तरकारी खरिद गर्दा कोरोना भाइरस सर्ने त्रासका कारण पनि कतिपय नागरिकले बाँझो जमिनको सदुपयोग गर्न थालेका छन् ।

गाउँघरतिरका नागरिकहरु खेतबारी मेलापातमा व्यस्त भइरहँदा शहर बजारतिरका नागरिकहरु पनि अहिले वर्षौंदेखि बाँझो रुपमा फालिएको करेसाबारी, घडेरी वरपर रहेका बाँझो जमिनको सदुपयोग गर्नतर्फ लागेका छन् ।  नवलपुरको सदरमुकाम समेत रहेको कावासोती नगरपालिकामा बसोबास गर्ने कतिपय बासिन्दाले अहिले वर्षांैदेखि बाँझो रहेको जग्गालाई खनजोत गरेर सिजन अनुसारको तरकारी लगाएका छन् भने करेसाबारीलाई पनि समय दिएका छन् ।

कावासोती नगरपालिका–३ का व्यवसायी समेत रहेका रामकृष्ण पुडासैनी र उनकी श्रीमती लक्ष्मी पुडासैनीले लकडाउनको समयलाई सदुपयोग गर्दै करेसाबारीमा अहिले लटरम्म तरकारी फलाएका छन् । कोरोनाका कारण भएको लकडाउनका काराण व्यवसाय बन्द भएपछि घरमा त्यसै बस्नुभन्दा अधिकांश समय करेसाबारीमै व्यतित गर्ने गरेको लक्ष्मी पुडासैनी बताउँछन् । काम गरे समयको पनि सदुपयोग हुने बाहिरबाट तरकारी किनेर खान समेत नपर्ने भएकाले फुर्सदको समयमा तरकारी लगाएको पुडासैनीले बताए ।

यस्तै कावासोती–२ निवासी मनरुपा चापागाईँले पनि आफ्नो घर नजिकै खाली रहेको घडेरीलाई खनजोत गरेर मकै, फर्सी, बोडी लगायतका तरकारी र अन्य बाली लगाएका छन् । फेन्सी पसल सञ्चालन गर्दै आएकी चापागाईँले कोरोना भाइरसको संक्रमण नहुँदा अधिकांश समय पसलमा नै बस्नुपर्ने हुँदा ँभएको थोरै जग्गामा समेत तरकारी लगाउन नभ्याउने गरेको सुनाउँदै चापगाईँले भने, ‘लकडाउनका कारण अहिले पसल बन्द छ फुर्सद भएको छ । भएको थोरै करेसाबारीमा पनि अहिले तरकारी लगाएको छु । घर नजिकै वर्षौदेखि खाली रहेको अर्कैको घडेरी समेत खनजोत गरेर मकै बोडी, फर्सी लगाएको छु । अहिले त तरकारी किन्नै परेको छैन । वरपरकालाई समेत दिएको छु । ’

यसैगरी कावासोती–३ निवासी सपना पौडेलले पनि लकडाउनको समयको सदपयोग गर्दै लटरम्म तरकारी फलाएकी छन् । लकडाउनअघि घरमै भएको करेसाबारी समेत बाँझो रहन्थ्यो तर, अहिले करेसाबारीमा मात्रै होइन घर नजिकैको अर्कैको घडेरीमा समेत तरकारी र मकै रोपेकी छन् । ‘मकै केही दिनमा खाने हुन्छ । बोडी , घिरौला , करेला , फर्सी फलाएको छु । छरछिमेकीलाई दिएर पनि तरकारी खाइनसक्नु भएको छ ।’ पौडेलले भनिन् ।

उनीहरु जस्तै जिल्लाका अन्य बजार क्षेत्रमा समेत अहिले बाँझो जमिनको सदुपयोग भएको छ । जग्गा कसको हो भन्ने समेत थाहा नभएका बर्षौदेखि बाँझो रहेका घडेरीमा समेत आसपासका बासिन्दा, घरभाडामा बस्दै आएका नागरिकले खनजोत गरेर तरकारीलगायतका अन्य बाली लगाएका छन् । भने , खेती गर्न दुःख मानेर त्यसै बाँझो रहेको खेतबारी समेत अहिले हराभरा हुन थालेको छ ।

कामका सिलसिलामा बाहिर रहेका परिवारका सदस्यहरु घरमा आएर बसेका कारण सबै मिलेर खेतीबारीको काम गर्न समेत सहज भएको कावासोतीका श्यामप्रसाद ढकालले बताए । ‘छोराछोरी बुहारी सबै काठमाडौंतिर बस्थे लकडाउनले अहिले घर फर्किएका छन् । सबै मिलेर खेतबारीको काम गर्दा अहिले सहज समेत भएको छ ।’ ढकालले भने । ‘अब धान रोप्ने बेला समेत आइसक्यो यसपाली त सबै परिवार मिलेर काम गर्न पाइन्छ कि भन्ने आश छ केही सहज हुन्छ भन्ने लागको छ । ’

कोरोना महामारीले गर्दा कतिपयको रोजगारी खोसिएको छ त, कतिपय पसल व्यवसाय सञ्चालन गर्नेहरु समेत मारमा परेका छन् । भएका खेतीबारी पनि बाँझो राखेर अन्य पेसा अंगालेका कतिपयले यसपाली खेती गर्न कस्सिएका छन् । अन्य पेसा व्यवसाय ठप्प भएको र यस्तो समयमा जोखिम समेत हुने भएका कारण घरखर्चका लागि भए पनि यसपाली खेती गर्ने सोँच बनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>