राजनीति
भारतीय मिडियालाई चेतावनी दिँदै मिनेन्द्र रिजालले भनेः नेपालमा यस्तो चल्दैन !

काठमाडौं,जेठ ८-
नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सीमा समस्याका विषयमा भारतीय मिडियामा राखेको धारणाको नेपालमा सामाजिक सञ्जालमा प्रसंशा भएको छ । भारतीय एक टेलिभिजन कार्यक्रममा बोल्दै कांग्रेस नेता रिजालले भनेका छन् लिम्पियाधुरा, लिपुलेक र कालापनी नेपाली भूमि हो । त्यो इतिहासको तथ्यले पुष्टि गरेको छ । त्यहाँ एकपक्षीरुपमा भारतले नक्सा सार्वजनिक गरेपछि वार्ताका लागि समय दिँदा पनि वार्तामा नआएपछि हामीले नक्सा सार्वजनिक गरेका हौं । सीमामा समस्या छ र त्यो समस्या द्विपक्षीय कूटनीतिक वार्तामार्फत समाधान गर्नुपर्छ ।
भारतीय मिडियाको एकोहोरो रटान र प्रश्न सोधिसकेपछि जवाफ सुन्न नचाहने प्रवृतिबाट आक्रोशित रिजालले भने, भारतीय मिडिया के सन्देश दिन खोजेका छन् । यो टेलिभिजन अन्तर्वार्ताको तरिका होइन र यस्तो तरिका नेपालमा चल्दैन । प्रश्न सोधिसकेपछि जवाफ सुन्नसक्ने धैर्यता पत्रकारलाई हुनुपर्छ ।
पत्रकार अर्नव गोसामीको कार्यक्रम दी डिबेटमा अर्नबले एकोहोरो चीन कसैको साथी हुनसक्दैन भन्ने अभिव्यक्ति दिएपछि रिजालले भने, हामीले कोसँग कस्तो सम्बन्ध बनाउने भन्ने कुरा निर्णय गर्ने अधिकार हाम्रो हो । हामी एक सार्वभौमसत्ता सम्पन्न मुलुका नागरिक हौं । हामी भारत र चीन दुबैसँग बराबरीको हैसियतमा राम्रो सम्बन्ध विकास गर्न चाहन्छौं ।
पूर्वमन्त्रीसमेत रहेका रिजालले भारतीय मिडियाको एकपक्षीय आरोपबाट नेपालीहरु निराश भएको बताएका छन् । भारत समस्या समाधानका लागि वार्ताबाट भाग्ने होइन वार्ताको टेबलमा आउनुपर्नेमा उनले जोड दिए ।






















