Breaking News
कोरोना अस्पताल अनियमितता प्रकरणः काँग्रेसले शसक्त आन्दोलन गर्ने

चितवन, वैशाख २३–
नेपाली काँग्रेस चितवनले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा भएको अनियमितता र चोरीको मुद्धालाई लिएर सुरु गरेको आन्दोलनलाई अझै शशक्त बनाउने निर्णय गरेको छ ।
काँग्रेस चितवनको आज (मंगलबार) सम्पन्न पदाधिकारी बैठकले कोरोना अस्पतालमा भएको अनियमितताका विषयमा सडक संघर्ष नभई सामाजिक सञ्जालमा अभियान चलाउने निर्णय गरेको हो । दोषीलाई निलम्बन गरी कारवाही नगरेसम्म आन्दोलन जारी राख्ने बैठकले निर्णय गरेको छ ।
कोरोनाको त्रासको समयमा सरकारले गरेको लकडाउनलाई ध्यानमा राख्दै सामाजिक सञ्जालमार्फत आन्दोलन जारी राख्ने र सामाजीक दुरी कायम गर्दै अन्तरक्रिया र बहसका कार्यक्रमहरु संञ्चालन गर्ने निर्णय भएको काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए ।
काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सातै स्थानीय तह र ९८ वटा वडामा क्वारेन्टाइन बनाउन स्थानीय तहहरुलाई आग्रह गरेको छ । बिदेशबाट आउनेहरुको संख्या बढ्दै जाने र कोरोनाको जोखिम दिनानुदिन बढेकोले सबै निकायमा क्वारेन्टाइनको ब्यवस्था गर्न माग समेत गरिएको जिल्ला सहसचिव राजन कार्कीले जानकारी दिए ।
लकडाउनको समय बढेकोले दोस्रो चरणको राहत तत्काल वितरण गर्न पनि सम्बन्धित पक्षसंग आग्रह गरेको छ । राहत बितरणका क्रममा अनियमितता भएको सूचना आईरहेको भन्दै सर्बदलिय, सर्वपक्षिय निर्णय अनुसार राहत वितरण गर्न बैठकले माग समेत गरेको छ । बैठकले काँग्रेसबाट निर्वाचित महानगरपालिकाका प्रतिनिधिहरुको आन्दोलनलाई शसक्त बनाउन समेत आग्रह गरेको छ ।






















