राजनीति
पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णयपछि बोल्यो कांग्रेस, भन्यो- बेमौसमी बाजा नबजाऔं

काठमाडौं, वैशाख ८-
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले कोरोनाभाइरसको महामारीकाबीच बेमौसमी बाजा नबजाउन सरकारलाई आग्रह गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले संसारकै ध्यान कोरोना महामारीमाथि विजय हासिल गर्नु रहेको भन्दै यो बेलामा अरु विषयमा ध्यान लगाउन नहुने उल्लेख गरेका छन् ।
सरकारले राजनीतिक दलसम्बन्धी कानूनलाई संशोधन गर्न गरी संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्ययादेश ल्याउने निर्णय गरेसँगै कांग्रेसले यसलाई बेमोसमी बाजाको संज्ञा दिएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसारमा अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने भएको र नेपालका लागि पनि यतिबेला अन्य सबै विषय गौण भएको र रहनुपर्ने उल्लेख गरेका छन् । उनले नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहन सम्पूर्ण सोच र शक्ति समर्पित हुनुपर्ने जनाएका छन् ।
सोमबार(आज) बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ठाडो प्रस्तावमा अध्यादेश ल्याउने निर्णय भएको हो ।
अहिलेको राजनीतिकि दलसम्बन्धी ऐनमा संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत बहुमत भएमात्र पार्टी फुटाउन सकिने व्यवस्था रहेको छ ।
उनले ट्वीटरमा लेखेका छन्, ‘बेमौसमी बाजा नबजाऔं ! संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हो । नेपाल देशका लागि पनि यतिबेला अन्य सबै विषय गौण छन् र गौण रहनुपर्छ । हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ । जय नेपाल !’

























