देश/प्रदेश
कोरोनाविरुद्धको लडाईमा खुल्ला सिमाना मुख्य चुनौतिः मुख्यमन्त्री पोखरेल

बिकास अधिकारी
बुटवल, चैत २४–
५ नम्बर प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले कोरोनाविरुद्धको लडाईमा खुल्ला सिमाना चुनौतिको रुपमा देखिएको बताउनुभएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषका लागी सहयोग हस्तान्तरण गर्न पुगेको उद्योगी व्यवसायीको टोलीसंग कुराकानी गर्दे मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । सबै एक जुट भए मात्र कोरोना नियन्त्रणको कार्य प्रभावकारी हुन सक्ने भएकाले सिमा क्षेत्रमा जनचेतनाका कार्यक्रम पनि वृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
खल्ला सिमा हुँदै रातको समयमा मानिसहरु भित्रने क्रम जारी रहेको तर्फ पनि उद्योगीव्यवासीले मुख्यमन्त्री पोखरलेको ध्यानाकर्षण गराएका थिए । जवाफमा उहाँले थप सुरक्षाकर्मी परिचालन गरेर सिमा नाकामा कडाई गरिएको पनि बताउनुभयो । ‘खुल्ला सिमाना मुख्य चुनौति छ, सरकारले चाहेर मात्र सम्भव छैन् आम नागरिक सचेत हुनुपर्छ’ उहाँले भन्नुभयो ।
सके सम्म सिमा क्षेत्रबाट कोही पनि नेपाल तर्फ नआउने गरी तयारी गरिएको र यदि कोहि आईहाले पनि तुरुन्तै क्वारेन्टाइनमा पठाईने मुख्यमन्त्री पोखरेलले बताउनुभयो । कोरोनाबाट प्रभावित विपन्न वर्गका परिवारका लागी राहत वितरण प्रक्रिया सुरु भईसकेको बताउदै मानिसले खान नपाउने अवस्था आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । आवश्यक परे बजेट रकमान्तर गरेर पनि कोरोना संक्रमण विरुद्धको कार्य प्रभावकारी बनाईने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उद्योग वाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधि तिवारी र उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीका अध्यक्ष केशव भण्डारीले मुख्यमन्त्रीलाई उद्योग वाणिज्य संघहरुले गरिरहेका सहयोगका काम र खुल्ला सिमाले उत्पन्न गराएको चुनौतिको विषयमा जानकारी गराउनुभएको थियो ।
उद्योग वाणिज्य महासंघ प्रदेश पाँचले प्रदेश सरकारलाई साढे दुई लाख राहत रकम पनि सहयोग गरेको छ । सो रकम महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारीले हस्तान्तरण गर्नुभएको हो ।
























