देश/प्रदेश
सरकारले स्वास्थ्यकर्मीलाई पूर्णरुपले सुरक्षित गराएर उपचारमा लगाउने

काठमाडौं, चैत २२–
शनिबार साझ बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । स्वास्थ्यकर्मीहरुको सुरक्षालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको बेला सरकारले स्वास्थ्यकर्मीको पक्षमा केही महत्वपूर्ण निर्णय गरेको छ ।
सरकार प्रवक्ता एवंम् सूचना तथा संचारमन्त्री डा.युवराज खतिवडाले बैठकका निर्णय सार्वजनिक गर्दै अहिलेको अवस्थामा स्वास्थ्यकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले उहाँहरुको मनोवल वृद्धि गर्न गरिएको बीमा, प्रोत्साहनभत्ताका अतिरिक्त सुरक्षाका लागि स्वास्थ्य उपकरण यथाशक्य छिटो उपलब्ध गराउने र निश्चित मापदण्ड (प्रोटोकल) का आधारमा प्रयोग गर्न लगाउने निर्णय भएको जानकारी दिनुभयो ।
मन्त्री खतिवडाले भन्नुभयो, “स्वास्थ्यकर्मीलाई पूर्णरुपले सुरक्षित गराएर उपचारमा लगाउने, त्यसमा बाधाव्यवधान उत्पन्न गराउने, सुरक्षामा खलल पुर्याउने र स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्याउन खोज्ने कुनै पनि व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारवाही गर्ने निर्णय भएको छ ।”
स्वास्थ्यकर्मीलाई असुरक्षित हुन नदिनेतर्फ स्थानीय प्रशासनदेखि सबै तहका सरकारले सुरक्षाको व्यवस्था मिलाउनुपर्नेछ । कोभिड– १९ को जोखिम रोकथाम र नियन्त्रण गर्न चालेका कदमको समीक्षा गर्दै सरकारले सानो सङ्ख्यामा मात्र सङ्क्रमण केश कायम राख्न सकेकामा सन्तुष्टि व्यक्त गरेको छ ।
























