देश/प्रदेश

काठमाडौंमा लकडाउन उल्लङ्घन गर्ने ६०० लाई बिहानै गरियो ‘होल्ड’

Banner

काठमाडौँ, चैत १६–

कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्ने ६०० भन्दा बढीलाई आज बिहानै प्रहरीले ‘होल्ड’ गरेर सचेतना कक्षा दिएको छ । पक्राउ गरेर राख्दा झन् जोखिम बढ्ने भएकाले शनिबारदेखि प्रहरीले उल्लङ्घनकर्तालाई जहाँ भेटिन्छ त्यहाँ केही घण्टा होल्ड (रोकेर राख्ने) र सचेतना दिएर जहाँबाट आएको हो त्यतै फर्काउन थालेको हो ।

आज बिहान ७ः३० बजेसम्म्मा मात्रै ५१२ पुरुष र १०५ महिलालाई यसरी सडकमै होल्ड गरेर राखिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । उनीहरुलाई सामाजिक दूरी कायम गरी दुईदेखि तीन घण्टा होल्ड गरिने र रोगको बारेमा जानकारी गराइने छ । सवारीसाधन भने १०३ वटालाई होल्ड गरेर राखिएको प्रहरीले जनाएको छ । प्रहरी नायब महानिरीक्षक पोखरेलले उपत्यकाको तीनै जिल्लामा उक्त नियम लागू गरिएको जानकारी दिनुभयो । आदेश उल्लङ्न गर्नेविरुद्ध कारवाहीको नयाँ नियमस्वरुप होल्ड गरेर सचेतना शिक्षा दिन थालिएको उहाँले जानकारी दिनुभयो ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी उक्त आदेश जारी गरेको थियो । आदेश चैत १८ गते बिहानसम्म लागू हुने छ । अहिलेसम्म नेपालमा पाँच जनामा उक्त भाइरसको सङ्क्रमण देखिएको छ । पाँचै जना विभिन्न मुलुकबाट फर्किएका नेपाली हुन् । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>