लुम्बिनी
मजुदरलाई तिलोत्तमा नगरपालिकाले १० केजी चामल,२ केजी दाल र १ केजी नुन दिने

बुटवल,चैत १३-
कोराना भाइरस नियन्त्रणका लागि देशैभर लकडाउन भएको बेला दैनिक मजदुरी गर्नेहरू प्रभावित हुनसक्ने भन्दै रूपन्देहीको तिलोत्तमा नगरपालिकाले राहत प्याकेज घोषणा गरेको छ। नगरपालिकाले लकडाउनका बेलामा दैनिक ज्यालादरी गरेर जीविकोपार्जन गर्नेहरूलाई सकस हुने भएकाले त्यस्ता वर्गलाई लक्षित गरेर तत्काल नै भोको बस्न नपर्ने गरी राहत घोषणा गरेको हो।
बिहीबार बिहान बसेको नगरपालिकाको सचिवलाय बैठकले लकडाउनबाट प्रभावित भई दैनिक छाक टार्न समस्या भएका घर परिवारलाई टोल विकास समितिमार्फत वडाले सिफारिस गरेपछि राहत उपलब्ध गराउने व्यवस्था गरेको छ।
राहतअन्तर्गत तिलोत्तमा नगरपालिकाले पहिलो चरणमा साँझबिहान छाक टार्न समस्यामा परेका प्रतिपरिवारलाई १० केजी चामल, २ केजी दाल र १ केजी नुन उपलब्ध गराउने नीति लिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए।
लकडाउनका कारण कोही पनि नागरिक घरबाहिर निस्कन बन्देज लगाइएको छ।
























