देश/प्रदेश
कोरोना नियन्त्रण कोषमा एनसेलले दियो १० करोड

काठमाडौं, चैत ११–
सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ प्रदान गरेको छ । यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिँडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका छन् । “सिंगो विश्व कोभिड–१९ विरुद्ध लडिरहँदा नेपाल पनि एकजुट भएर यो संक्रमणसँग जुधिरहेको छ । कोभिड–१९ बाट हरेक नागरिकलाई जोगाउनुका साथै सम्भावित संक्रमणको उपचारका लागि हामीले सम्पूर्ण ध्यान केन्द्रित गरेका छौं । सरकारको यो सत्प्रयासमा एनसेलजस्तो निजी क्षेत्रको ठूलो सेवाप्रदायकले गरेको योगदान सराहनीय छ । यो सहयोगले तात्कालिन सेवा प्रवाहमा ठूलो भूमिका खेल्नेछ” प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिँडारीले भने ।
“एनसेल सधैं जिम्मेवार कर्पोरेट नागरिकको रूपमा रहिआएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलले सरकारको कोभिड–१९ कोषमा गरेको रु. १० करोड सहयोग यसकै निरन्तरता हो । यो सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एक भई कोभिड–१९ विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छौं । हामी विश्वस्त छौं, यो हाम्रो योगदानले कोभिड–१९ रोकथामका लागि स्वाथ्यकर्मीहरूलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरुको खरिदमा सरकारलाई सहयोग हुनेछ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने ।
























