देश/प्रदेश

कोभिड–१९ रोकथामका लागि बृहत् तयारी थालेका छौँ : मुख्यमन्त्री भट्ट

Banner

कञ्चनपुर, चैत ८-

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि आवश्यक पूर्वतयारी थालिएको बताए । आज पश्चिमी सीमानाका गड्डाचौकीको अवलोकन गर्दै उनले ‘हेल्थ डेस्क’मा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सुरक्षित गर्न कसरी व्यवस्थित गर्ने भनेर तयारी भइरहेको बताए ।

“संसारभरि फैलिएको कोरोना भाइरसको रोकथामका लागि आवश्यक सामग्रीको अभाव छ, सङ्घीय सरकारसँग समन्वय गरी अपुग सामग्रीको व्यवस्था मिलाइने छ, आवश्यक औषधिका लागि अप्ठ्यारो छैन”, उनले भने । कैलाली र कञ्चनपुर तराईका जिल्ला सीमाक्षेत्र भएका बढी जोखिम भएकाले बृहत् तयारी गरिएको उनको भनाइ छ । कोरोनाको सङ्क्रमण देखिए त्यसलाई व्यवस्थित गर्न तराई र पहाडी जिल्लामा क्वारेन्टाइन र आइसोलेसन कक्ष स्थापना गरिएको उनले बताए ।

सोही क्रममा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले साझेदार संस्थासँग मिलेर कोरोना रोकथामका लागि अपनाउनुपर्ने पूर्वतयारी भइरहेको बताए । नगरपालिकाले सामुदायिक भवनमा १०० जनालाई राख्न सकिने गरी क्वारेन्टाइनको व्यवस्था गरिएको उनले बताए । बजार क्षेत्रमा हुने कालोबजारी रोक्ने काम अगाडि बढाइएको उहाँको भनाइ थियो ।

यसैबीच मुख्यमन्त्री भट्टले सीमामा राखिएको हेल्थ डेस्कको अवस्थाका बारेमा समेत जानकारी लिए । आजै कैलालीको त्रिनगर भन्सार नजिकै गौरीफन्टामा राखिएको हेल्थ डेस्कको समेत उनले अबलोकन गरेका छन् । उनिसहित सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले भीमदत्तनगरस्थित महाकाली अस्पतालको आइसोलेसन कक्ष र नगरपालिकाको क्वारेन्टाइन राख्न तयार गरिएको कक्षको अवलोकनसमेत गरेका थिए । मुख्यमन्त्री भट्टले कोरोनाका शङ्कास्पद बिरामी राख्न महाकाली अस्पतालमा ५० श्ययाको प्रिफाभ आइसोलेसन वार्ड तत्काल निर्माण गर्ने घोषणासमेत गरेका छन् ।

दश हजार बढी यात्रु भित्रिए

पश्चिमी सीमानाका गड्डाचौकीबाट एकै दिन भारतबाट १० हजार बढी यात्रु भित्रिएका छन् । बिहानीको समयमा धेरै यात्रु भारतबाट आएपछि सडक क्षेत्रमा राख्ने व्यवस्था नहँुदा भन्सार कार्यालयको परिसरमा राखिएको थियो । हेल्थ डेस्कका स्वास्थ्यकर्मीलाई जाँच गर्न निकै हम्मेहम्मे परेको थियो । चार दिनयतादेखि यात्रुको चाप बढे पनि यति धेरै यात्रु आएको पहिलोपटक भएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका सहायक प्रहरी निरीक्षक रमेश धामीले बताए ।

“अरु बेला दैनिक तीन हजारदेखि पाँच हजार यात्रु आएका थिए, आज बिहान १० हजार बढी यात्रु आए”, उनेले भने । भारतबाट आएका यात्रुमा कोरोना भाइरस सङ्क्रमणका शङ्कास्पद बिरामी भने नदेखिएको हेल्थ डेस्कका कर्मचारीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>