देश/प्रदेश

कोभिड–१९ : बागमती प्रदेशले ५ सय शैय्याको क्वारेन्टाइन कक्ष बनाउने

Banner

हेटौंडा, चैत ६-

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेशस्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले ५०० शैय्याको क्वारेन्टाइन (निगरानीकक्ष) निर्माण गर्ने भएको छ ।

कोभिड–१९को जोखिमलाई ध्यान दिँदै वाग्मती प्रदेश सरकारले ५०० शैय्याको क्वारेन्टाइन (निगरानीकक्ष) निर्माण गर्ने भएको हो ।

प्रदेशस्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबार बसेको बैठकले हेटौँडा अस्पतालसहित, हेटौँडा एकेडेमी, वन विज्ञान अध्ययन संस्थान, गौरीटार खेलकूद एकेडेमी र सशस्त्र प्रहरीको हेटौँडा क्याम्पमा सो कक्ष निर्माण गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

सो समितिमा आर्थिक मामिला तथा योजनामन्त्री, सामाजिक विकासमन्त्री, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रतिनिधि सदस्य रहने जनाइएको छ ।

बैठकले प्रदेश भित्रिने नाकामा स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क सञ्चालन गर्ने, कोरोनाबाट सङ्क्रमण भई उपचार गर्नुपर्ने बिरामीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको सरकारी, सामुदायिक तथा निजी अस्पतालबाट उपचार व्यवस्था मिलाउनका लागि प्रदेश सरकारले आवश्यक समन्वय तथा व्यवस्थापन गर्ने, प्रदेशभित्रका सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, जिम तथा हेल्थ क्लब, सङ्ग्रहालय, स्विमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार, दोहोरी साँझ तथा क्लबलाई २०७६ चैत मसान्तसम्म बन्द गर्ने निर्णय समेत गरेको छ । अत्यावश्यक काममा बाहेक आवतजावत तथा हिँडडुल नगर्न सर्वसाधारणलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै बैठकले मठमन्दिर, गुम्बा, चर्चजस्ता धार्मिकस्थल, उद्यान, वनभोजजस्ता मनोरञ्जनात्मक र पार्टी प्यालेसजस्ता सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला नहुन पनि अनुरोध गरेको छ । सार्वजनिक यातायातका सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न, सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्नुअघि निर्मलीकरण गर्न समेत सरकारले अनुरोध गरेको छ ।

मानिसको बढी जमघट हुने सार्वजनिकस्थलमा स्थानीय तहले दैनिकरूपमा निश्चित समयको अन्तरालमा सरसफाइको व्यवस्था गर्नुपर्ने बैठकको निर्णय छ ।

त्यस्तै बैठकले उपभोग्य सामग्रीको कालोबजारी गर्ने, कृत्रिम अभाव तथा मिसावट गर्ने कार्य नगर्न अनुरोध गर्दै त्यसो गरेमा कानूनबमोजिम हदैसम्मको कारवाही गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>